पल शाहलाई हिरासतमा राखेर थप ५ दिन अनुसन्धान गरिने

नौलो समाचार संवाददाता
२०७८ चैत्र ४, शुक्रबार मा प्रकाशित ७३२ पटक पढिएको
पल शाहलाई हिरासतमा राखेर थप ५ दिन अनुसन्धान गरिने

चैत ४, तनहुँ। बलात्कार आरोपमा पक्राउ परेका कलाकार पल शाहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, तनहुँले अनुमति दिएको छ।

शाहमाथि दोस्रोपटक लिइएको १२ दिनको समय शुक्रबार सकिएसँगै प्रहरीले अदालतबाट अनुमति लिएर थप ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्ने भएको हो।

तनहुँ जिल्ला अदालतले दोस्रोपटक फागुन २२ गते १२ दिनको समय दिएर शाहमाथि अनुसन्धानको समय दिएको थियो ।

नाबालिगको किटानी जाहेरीको आधारमा शाहलाई फागुन १५ तनहुँ प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीविरुद्ध गौडाकोटमा पनि जाहेरी परेको थियो। जसका आधारमा जिल्ला अदालत नवलपुरमा बिहीबार मात्र मुद्दा दायर भएको छ।

नवलपुरमा दर्ता भएको जबर्जस्ती करणीको मुद्दामा अनुसन्धानका लागि फागुन २४ गते पल शाहलाई नवलपुर लगिएपछि तनहुँ प्रहरीले अनुसन्धानको बाँकी काम गर्न सकेको छैन। जसकारण पल शाहमाथिको अनुसन्धान अझै नसकिएकाले म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रतिक्रिया दिनुहोस