तेमाल गाउँपालिकाको प्रशासकीय भवन प्रधानमन्त्री देउवाद्वारा उद्घाटन

नौलो समाचार संवाददाता
२०७८ चैत्र ५, शनिबार मा प्रकाशित १५७० पटक पढिएको
तेमाल गाउँपालिकाको प्रशासकीय भवन प्रधानमन्त्री देउवाद्वारा उद्घाटन

चैत ५, काभ्रे। काभ्रेको तेमाल गाउँपालिकाको प्रशासकीय भवनको आज उदघाटन गरिएको छ।

भवनको आज प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उदघाटन गर्नुभएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुने बताउनुभएको छ। प्रधानमन्त्री देउवाले स्थानीयतहको निर्वाचननिष्पक्ष, स्वतन्त्र र भयरहीतबनाउन सबैको प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो। साथै उहाँले तेमाल गाउँपालिकाले शुसासनको क्षेत्रमा उदाहरणीय कार्य गर्न सकेको भन्दै प्रसंशा गर्नुभयो।

संविधान सभा सदस्य एवं नेपाली काँग्रेसका जिल्ला सभापति तीर्थ लामाले तेमाल गाउँपालिका पर्यटकीय क्षेत्र समेत भएकाले यस क्षेत्रको विकासका लागि नेपाल सरकारको सहयोग खाँचो रहेको औँल्याउनुभयो।
भुकुण्डेबेशीदेखि मेच्छेपौवा सम्मको सडक कालोपत्रेका लागि ४० करोडको बजेट परेको भन्दै थप ६० करोड अवाश्यक रहेको उहाँको भनाइ थियो।

यस्तै पूर्वराज्यमन्त्री रहेका नेकपा (माओवादी केन्द्र) का जिल्ला इञ्चार्ज सूर्यमान दोङले स्थानीय निर्वाचनमा सरकारमा रहेका दल बीच गठबन्धन आवश्यक रहेको बताउनुभएको थियो।

तेमाल गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले गाउँपालिकाको समृद्धिका लागि धेरै काम गर्न बाँकी रहेको बताउँदै यसका लागि उहाँले प्रधानमन्त्री सँग स्थानीय विकासका लागि सहयोग आवश्यक रहेको बताउनुभयो। भकुण्डे–मेच्छेपौवा सडक, बोहोरेदोभान सडक कालोपत्रे गर्न, सरकारी अस्पताल निर्माण गर्न, कृषि तथा बाली विज्ञान पढाइ गर्न, वौद्ध विश्वविद्यालय, भ्यूटावर र तामाङ संग्रहालय निर्माण गर्न प्रधानमन्त्री सँग सहयोगको अपेक्षा गरेको तामाङले बताउनुभयो।

कार्यक्रममा कांग्रेससहित विभिन्न दलका नेता तथा कार्यकर्ताहरू तथा  तेमाल गाउँपालिकाको गाउँ-गाउँबाट ठूलो संख्यामा सर्वसाधारण पोखरीनारायणस्थान आईपुगेका थिए।

गाउँपालिकाको प्रशासनिक भवन २ बर्षको अवधिमा निर्माण सम्पन्न भएको हो।

यो भवन निर्माणमा ४ करोड ५२ लाख ४७ हजार ६५३ मा निर्माण सक्ने गरी सम्झौता भएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस