पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

म्यानेजर कृष्ण जोशी एक लाख धरौटीमा छुटे
नौलो समाचार संवाददाता
२०७८ चैत्र १०, बिहिबार मा प्रकाशित ९४५ पटक पढिएको
पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

चैत १०, तनहुँ। नाबालिग गायिकामाथि बलात्कार मुद्दामा हिरासतमा रहेका पल शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ।

थुनछेक बहस सकिएपछि बिहीबार जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतका अधिकृत हरिशचन्द्र गौतमले जानकारी दिनुभयो।

बलात्कार मतियारका अभियोग लागेका पलका म्यानेजर कृष्ण जोशीलाई भने १ लाख धरौटीमा छाड्न आदेश भएको गौतमले बताउनुभयो। आदेश भएसँगै जिल्ला कारागार तनहुँमा पललाई चलान गरिसकिएको प्रहरीले जनाएको छ।

जिल्ला अदालतको इजलासमा बुधबार र बिहीबार थुनछेक बहस भएको थियो।

पीडित नाबालिगका तर्फबाट जिल्ला न्यायाधीवक्ता रामचन्द्र शर्मा, अधिवक्ताहरू राधिका खतिवडा, मोहना अन्सारी, किशोर सापकोटा, सरिता तिवारी, टेकनारायण गौतम, विमल लामिछाने, सहायक जिल्ला न्यायाधीवक्ता विपिनराज तिवारी र अधिवक्ता शिवराज काफ्लेले बुधबार बहस गरेका थिए।

यता पलका पक्षबाट बरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, यदुनाथ खनाल, लव मैनाली, अधिवक्ताहरू भानुभक्त सुवेदी परशुराम गिरी, बार एसोसिएसन तनहुँका अध्यक्ष अधिवक्ता भानुभक्त सुवेदी, यज्ञबहादुर राना, सरिता भण्डारी, माधव घिमिरे लगायत १२ जनाले बहस गरेका थिए।

जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरूद्ध अधिकतम १४ बर्ष कैद सजायको माग गर्दै मंगलबार अभियोग पत्र अदालतमा दर्ता गरेको थियो।

अदालतले सोही दिन पलसँग बयान लिएको थियो भने मतियारका रूपमा पेस गरिएका उनका म्यानेजर कृष्ण जोशीसँग बुधबार बयान लिएको थियो।

नाबालिग गायिकाले झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक-पटक पलले बलात्कार गरेको भन्दै उनका परिवारले तनहुँ प्रहरीमा उजुरी दिएको थियो।

परिवारले फागुन ११ गते उजुरी दिएपछि बेपत्ता भएका पल १५ गते तनहुँ प्रहरीमा आत्मसमर्पण गर्न पुगेका थिए। पीडित परिवारले नवलपुर प्रहरीमा पनि १५ गते जाहेरी दिएका थिए।

नवलपुर प्रहरीले अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयमार्फत चैत ३ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको छ।

तनहुँ अदालतले पुर्पक्षका लागि कारागार पठाएपछि अब नवलपुर अदालतमा थुनछेक बहस सुरू हुने नवलपुरका सरकारी वकिल डालबहादुर नेपालीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस