नमोबुद्ध र दैलेखको दुल्लू नगरबीच भगिनी सम्वन्ध स्थापना

नौलो समाचार संवाददाता
२०७८ चैत्र ११, शुक्रबार मा प्रकाशित ६३८ पटक पढिएको

नमोबुद्ध र दैलेखको दुल्लू नगरबीच भगिनी सम्वन्ध स्थापना

चैत ११, काभ्रे। काभ्रेको नमोबुद्ध नगरपालिका र कर्णाली अञ्चलको दैलेख जिल्लास्थित दुल्लू नगरपालिकाबीच भगिनी सम्वन्ध स्थापना भएको छ।

धार्मिक एवं सांस्कृतिक हिसाबले महत्वपूर्ण रहेका दुबै नगरपालिकाले आपसी सहकार्यमा सांस्कृतिक, सामाजिक एवं अन्य क्षेत्रमा सहकार्य गर्न तयार रहँदै भगिनी सम्वन्ध जोडेका हुन्। हालै दुल्लू नगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रमका बीच दुबै नगरपालिकाका प्रमुखले भगिनी सम्वन्ध कायम गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

नमोबुद्ध र दुल्लू नगरपालिकाको कार्यपालिका बैठकले आपसमा भगिनी सम्वन्ध कायम गर्ने निर्णय गरेका थिए । कार्यक्रमा नमोबुद्ध नगरपालिकाका प्रमुख टी.पी. शर्मा तिमल्सिना र दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले निर्णयमा हस्ताक्षर गर्नुभएको थियो। स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा अन्तरस्थानीय तहबीच भगिनी सम्वन्ध कायम गर्नसक्ने व्यवस्था रहेको छ।

कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख टी.पी शर्मा तिमल्सिनाले अब दुबै नगरपालिकाबीच धार्मिक, सांस्कृतिक एवं सामाजिक क्षेत्रमा सहकार्य हुने बताउनुभयो। नमोबुद्ध नगरपालिकाले यसअघि सिन्धुलीको कमलामाई नगरपालिकासँग भगिनी सम्वन्ध स्थापना गर्ने निर्णय गरिसकेको जानकारी गराउँदै तिमल्सिनाले धार्मिक एवं भौगोलिक अवस्थामा नमोबुद्ध र दुल्लू उस्तै रहेको बताउनुभयो।

यस्तै दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले काभ्रेको ऐतिहासिक नगरपालिका नमोबुद्ध नगरपालिकासँग सहकार्य गर्दै अघि बढ्न पाउनु खुशीको विषय भएको बताउनुभयो।

कार्यक्रममा दुल्लू नगरपालिकाकी उपप्रमुख विष्णु थापा, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, दुल्लू नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणि नेपाल, नमोबुद्ध नगरपालिका वडा नं. २ का अध्यक्ष सञ्जीव ढकाल, दुल्लू नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । भगिनी सम्वन्ध स्थापनाअघि दुल्लू नगरपालिकाका प्रमुख भण्डारीको नेतृत्वको टोलीले नमोबुद्ध नगरपालिकाको भ्रमण गरेको थियो ।

भगिनी सम्वन्ध स्थापनासम्वन्धी कार्यक्रमका लागि दुल्लू पुगेको नमोबुद्ध नगरपालिकाका प्रमुख टी.पी शर्मा नेतृत्वको टोलीलाई दुल्लू नगरपालिकाका प्रमुख भण्डारी, नेकपा एमालेका पोलिटब्युरो सदस्य लक्ष्मीप्रसाद पोखरेल लगायतले स्वागत गर्नुभएको थियो।

दैलेख जिल्लाको ऐतिहासिक भूमि दुल्लु धार्मिक एवं सांस्कृतिकरुपमा महत्वपूर्ण क्षेत्र मानिन्छ । नेपाली भाषाको पहिलो शिलालेख दुल्लूमै भेटिएको छ भने यो क्षेत्र ज्वाला सभ्यताको केन्द्र मानिन्छ, जहाँ अहिले पनि निरन्तर ज्वाला बलिरहने नाभीस्थान, शिरस्थान लगायतका महत्वपूर्ण ऐतिहासिक क्षेत्र रहेका छन् । दुल्लू तत्कालिन सिंजा राज्यको शितकालिन राजधानीसमेत रहेको थियो।


प्रतिक्रिया दिनुहोस