आगामी निर्वाचन जनादेश र परमादेशबीचको ठुलो लडाइँ : बास्कोटा

नौलो समाचार संवाददाता
२०७८ चैत्र १४, सोमबार मा प्रकाशित ७८० पटक पढिएको

आगामी निर्वाचन जनादेश र परमादेशबीचको ठुलो लडाइँ : बास्कोटा

चैत १४, काभ्रे। पुर्वमन्त्री एवं नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य गोकुल बास्कोटाले आगामी निर्वाचनबाट जनादेशले विजय प्राप्त गर्ने बताउनुभएको छ। आज बनेपा नगरपालिकाको ४१औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले उक्त कुरा बताउनुभएको हो।

उहाँले आगामी निर्वाचन जनादेश र परमादेशबीचको ठुलो लडाइँ भएको पनि बताउनुभयो।

एमाले पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री गोकुल बाँस्कोटाले बनेपामा ५ बर्ष अघि प्रतिबद्धता गरेका सबै काम पुरा भएको दाबी समेत गर्नुभएको छ।

बाँस्कोटाले पुण्यमाता करिडोरमा भैरहेको अवरोध प्रति आक्रोश व्यक्त गर्दै करिडोर निर्माणका लागि ७५ करोड लगानी गर्दा मुद्दा मामिला गरेर काम रोक्न खोजिएको उल्लेख गर्नुभयो।

देशलाई पछाडि धकेल्ने कुरामा नेकपा (एमाले) सहमत हुन नसक्ने बास्कोटाको भनाइ थियो। आफ्नो ठाउँ, पालिका, जिल्ला र समग्र देश निर्माण गर्दै दुनियाँको सामु एक साथ सँग–सँगै अगाडी बढ्न चाहेको बास्कोटाले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशी लगायतको उपस्थिति थियो।

कार्यक्रममा बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिं बादेले नगरपालिकाले गरेका कामहरुको विववरण प्रस्तुत गर्नुभएको थियो। स्थापना दिवसको अवसर पारेर नगरलाई विभिन्न क्षेत्रबाट योगदान पुर्याउने व्यक्तिलाई सम्मान गरिएको थियो।

विभिन्न व्यक्तित्वलाई सम्मान

कार्यक्रममा बनेपाकै तेस्रो ठूलो पदककारुपमा स्थापित बनेपा तारा पदक संस्कृतिविद ज्ञानकाजी मानन्धर र वरिष्ठ साहित्यकार मोहन दुवाललाई ४१ औं स्थापना दिवसको अवसरमा सम्मान गरिएको थियो।

कार्यक्रम बनेपा तीनधारा क्षेत्रको सार्वजनिक स्थानमा रहेको पसल हटाई उदाहरणी कार्य गर्ने पूर्णकाजी ठिमी श्रेष्ठलाई कदर पत्रद्वारा सम्मानित गरिएको थियो। बनेपा नगर क्षेत्र भित्र रहेका विद्यालयमा १५ वर्षभन्दा बढी स्थायी सेवा अवधी भएका शिक्षकहरु, बनेपा नगरपालिका कार्यालयमा १५ वर्षभन्दा बढी समयदेखि कार्यरत स्थायी कर्मचारीहरुलाई बनेपा सेवा पदकबाट सम्मानित गरिएको थियो।

२०७४ वैशाख १ पछि निवृत्त भएका नगर क्षेत्र भित्र कार्यरत शिक्षकहरुमा दोसल्ला ओढाई कदरपत्र प्रदान गरिएको थियो। साथै २५ वर्ष स्थायी सेवा अवधी पुगेका कर्मचारीमा बनेपा दीर्घसेवा पदक प्रदान भएको थियो।

नगरको ४१ औं स्थापना दिवस अवसरमा बनेपाका ४, ५, १०, ११ र १४ वडालाई बालमैत्री वडाकारुपमा सम्मानित गरिँदै बनेपालाई बालमैत्री उन्मुख नगर घोषणा भएको छ।


प्रतिक्रिया दिनुहोस