फेरी बढ्यो : पेट्रोल लिटरको १६० रुपैयाँ, ग्यास १६०० पुग्याे

नौलो समाचार संवाददाता
२०७८ चैत्र २३, बुधबार मा प्रकाशित ७१८ पटक पढिएको
फेरी बढ्यो : पेट्रोल लिटरको १६० रुपैयाँ, ग्यास १६०० पुग्याे

चैत २३, काठमाण्डौ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ रहेकोमा ५ रुपैयाँ बढेर अब १ सय ६० रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य पनि १ सय ३८ रुपैयाँ प्रतिलिटरबाट बढाएर १ सय ४३ कायम गरिएको निगमले जनाएको छ।

त्यस्तै आन्तरिक उडानका लागि हवाई इन्धनमा पनि लिटरको ५ रुपैयाँले वृद्धि गरी १ सय ५६ रुपैयाँ कायम गरिएको छ भने अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ५० अमेरिकी डलर वृद्धि गरी १,५४५ डलर कायम गरिएको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य २५ रुपैयाँले वृद्धि गरी प्रतिसिलिन्डर १६ सय रुपैयाँ कायम गरिएको छ ।

मूल्यवृद्धिपछि पनि पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ९८ पैसा र डिजेलमा २८ रुपैयाँले घाटा रहेको निगमको दाबी छ । त्यस्तै, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ९३२ रुपैयाँ घाटा रहेको पनि निगमले जनाएको छ । मट्टीतेल र आन्तरिक हवाई इन्धनमा क्रमशः ६ रुपैयाँ ६९ पैसा र १७ रुपैयाँ १५ पैसा नाफा रहेको निगमले बताएको छ ।

त्यस्तै, बाह्यतर्फको हवाई इन्धनमा प्रतिलिटर ६७ रुपैयाँ ६५ पैसा नाफा रहेको पनि जनाइएको छ । मूल्य समायोजनपछि पनि आगामी १५ दिनमा ४ अर्ब ६३ करोड ७७ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण निगमले गरेको छ ।

प्रतिक्रिया दिनुहोस