धनेश्वर पुलदेखि खड्पुका स्थानीयले फेरी सडक अवरुद्ध पारे, यात्रुलाई सास्ती

नौलो समाचार संवाददाता
२०७८ चैत्र २४, बिहिबार मा प्रकाशित ८८३ पटक पढिएको

धनेश्वर पुलदेखि खड्पुका स्थानीयले फेरी सडक अवरुद्ध पारे, यात्रुलाई सास्ती

चैत २४, काभ्रे। बनेपा–पनौती सडकको धनेश्वरदेखि खड्पुसम्मको खण्ड स्थानीयले आज पनि अवरुद्ध पारेका छन्।

धनेश्वर पुलदेखि खड्पुसम्मको करिब २ किलो मिटर सडक पिच नगरेको भन्दै स्थानीयले सडक अबरुद्ध पारेका हुन्।

सडक अवरुद्ध हुँदा हजारौं सवारी साधन बाटोमै अलपत्र परेका छन् भने यात्रीहरू बीच बाटोबाटै हिँडेर गन्तव्यमा पुग्न बाध्य भएका छन्।

बन्दकर्ताले बिरामी बोकेको एम्बुलेन्स बाहेक कुनै पनि सवारी साधनलाई आऊजाउँ गर्न रोकेका छन्। उनीहरूले रिपोर्टिङमा गएका सञ्चारकर्मीको बाइक समेत छिर्न नदिई अवरोध गरेका छन्।

ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइराला र प्रहरी चौकी पनौतीका इन्चार्ज रुपाल अधिकारीको टोलीले बाटो खुलाउने प्रयास गरेपनि सफल हुन सकेन।

ठेकेदारलाई बोलाएर सडक पिच गर्ने सहमति नहुँदासम्म सडक अवरुद्ध कायम गर्ने स्थानीयले बताएका छन्।

चैत्र १८ गतेसम्म पिच गर्ने भनिएतापनि आजसम्म कुनैपनि काम अगाडि नबढाइएको र पिच नहुँदा धुलोको कारण निकै समस्या परेको भन्दै पुनः बाटो बन्द गर्न बाध्य भएको उनीहरूले बताएका छन्।

कहिलेकाँही पानी हाले पनि नालिको पानी हालेर सबैतिर दुर्गन्ध फैलाउने काम भइरहेको आरोप लगाएका छन्।

मकर मेला अघि पनौती–बनेपा सडक पिच थालिएता पनि धनेश्वर पुलदेखि खड्पुसम्मको करिब २ किलो मिटर भाग भनेे ठेकेदारको लापरवाहीका कारण पिच हुन सकेको छैन।

स्थानीयले गत फागुन २१ र २२ गते पनि पनि सडक अवरुद्ध पारेका थिए ।

 


प्रतिक्रिया दिनुहोस