पनौतीमा १२ वर्षे हरसिद्धि जात्रा सुरु, नाच प्रदर्शन गर्न ‘देवगण’ आईपुगे

नौलो समाचार संवाददाता
२०७८ चैत्र २८, सोमबार मा प्रकाशित १२६७ पटक पढिएको
पनौतीमा १२ वर्षे हरसिद्धि जात्रा सुरु, नाच प्रदर्शन गर्न ‘देवगण’ आईपुगे

चैत २८, काभ्रे। पनौतीमा प्रत्येक १२ वर्षमा हुने हरसिद्धी जात्रा आजबाट सुरु भएको छ।

हरसिद्धी जात्रामा नाच प्रदर्शन गर्न देवगणहरू पनौती आएका छन्। ललितपुरको हरसिद्धीबाट आएका देवगणलाई पनौतीवासीले पूजाआजासहित नगर परिक्रममा गराएका छन्। पनौतीबाट पुरुषोत्तम कर्माचार्यको नेतृत्वमा गएको टोलीले हरसिद्धिबाट देवगणलाई पनौती ल्याइएको हो।

आर्थिक अभावका कारण ६० वर्षपछि २०६६ सालमा पनौतीमा पुनः भएको हरसिद्धि जात्रा दोस्रो पटक हुन लागेको हो। यसअघि धुलिखेलमा देवजू परिवारले चैत्र १८ देखि २१ गतेसम्म हरसिद्धि जात्रा सञ्चालन गरेको थियो। धुलिखेलबाट दोलखा गएको देवगणको टोली काठमाडौं जयवागेश्वरीमा नाच देखाएर पनौती आएको हो।

हरसिद्धि जात्रा मूल समारोह समिति पनौतीका संयोजक सुरेश सैंजुले चैत्र २९ र ३० गते नाच हुने बताउनुभएको छ।

चैत २८ गते सांस्कृतिक परिक्रमा गरी चैत २९ र ३० गते हरसिद्धि डबली, पनौती बजारमा नाच प्रदर्शन गरिने छ। यस्तै वैशाख १ गते हरसिद्धि देवघरमा पूजापश्चात जात्रा सम्पन्न हुने छ।

त्रिशक्ति हरसिद्धिको पनौतीमा बास बसुञ्जेल अन्य बाजा बजाउन नहुने र पूजामा कुखुराको मासु, अण्डा र लसुन मनाही गरिएको छ।

जात्रामा अष्टमातृकाको नाच, विक्रमादित्यसँग सम्बन्धित दृश्य, विभिन्न देवदेवी, ऋषि तथा रामायणको आंशिक कथावस्तुहरु नाचमा प्रदर्शन गरिन्छ।

ललितपुरमा हरेक वर्ष ३ पटक र पशुपति, दोलखा, धुलिखेल, पनौतीलगायतका स्थानमा प्रत्येक १२ वर्षमा लाग्‍ने गरेको छ। हरसिद्धीको पूजा, अर्चनाले हरेक कुरा सिद्धी हुने जनविश्वास छ।

करिब २ हजार वर्ष पहिले हरसिद्धि नाच राजा विक्रमादित्यद्वारा सुरु गरिएको मानिन्छ। जात्रा ललितपुरको हरसिद्धि गाउँस्थित महाजनहरूको विशेष तान्त्रिक विधिबाट चल्दै आएको छ।

प्रतिक्रिया दिनुहोस