तेमाल गाउँपालिकाले दियो एकल बिदुर पुरुषलाई पनि मासिक भत्ता

नौलो समाचार संवाददाता
२०७८ चैत्र २९, मंगलबार मा प्रकाशित ६२५ पटक पढिएको
तेमाल गाउँपालिकाले दियो एकल बिदुर पुरुषलाई पनि मासिक भत्ता

चैत २९, काभ्रे। काभ्रेको तेमाल गाउँपालिकाले श्रीमती मृत्यु भएका बिदुर पुरुषलाई मासिक भत्ता वितरण गरेको छ।

तेमाल गाउँपालिकाले नौलो कार्यक्रमको रुपमा आज १ सय जना बिदुर पुरुषलाई मासिक २ हजारका दरले भत्ता वितरण गरेको हो।

गाउँपालिकाको वडा नं १ देखि ९ सम्मका पुरुषले ९ महिनाको १८ हजार भत्ता रकम पाएका छन्।

६० वर्ष पूरा भएको र ७० वर्ष ननाघेका बिदुर पुरुषका लागि भत्ता वितरण गरिएको हो। गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को नीति,कार्यक्रम र बजेट अनुसार रकम वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले जानकारी दिनुभएको छ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले बिदुर पुरुषको मुहारमा देखिएको हर्षले आफुलाई खुसी मिलेको बताउनुभयो। अध्यक्ष तामाङले जनताको मतको सम्मान गदै जनताकै हितमा सधै लागि परेकोले बिदुर पुरुषका लागी नयाँ कामको थालनी गरेको बताउनुभयो।

यस्तै, गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले सङ्घीय सरकारले दलित बालबालिका, अपांगता भएका व्यक्ति, एकल महिलालाई भत्ता दिदै आएको सन्दर्भमा तेमालका विदुर एवं एकल पुरुषहरुलाई पनि सहायता आवश्यक रहेको हुदाँ यस खालको सामाजिक सुरक्षा भत्ता दिइएको बताउनुभयो। उपाध्यक्ष तामाङले यो रकमको सहि सदुपयोग गर्न पनि सबै बिदुर पुरुषलाई अनुरोध गर्नुभएको छ।

आफुहरु जस्ता एकल पुरुषको मर्मलाई बुझेर यो कार्यक्रम ल्याउदा अब औषधि उपचार गर्न र खानपानमा समेत सहयोग पुग्ने भत्ता प्राप्त गर्ने एकल बिदुर पुरुषहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस