पनौतीमा २ जना मेयरसहित ९ जनाले उम्मेद्वारी फिर्ता लिए

नौलो समाचार संवाददाता
२०७९ बैशाख १६, शुक्रबार मा प्रकाशित १६८१ पटक पढिएको
पनौतीमा २ जना मेयरसहित ९ जनाले उम्मेद्वारी फिर्ता लिए

बैशाख १६, काभ्रे। पनौती नगरपालिका र वडाका विभिन्न पदबाट ९ जनाले उम्मेद्वारी फिर्ता लिएका छन्।

निर्वाचन आयोगले उम्मेद्वारी फिर्ता लिनको लागि आज ५ बजेसम्मको समय तोकेको थियो।

पनौती नगरको मेयर पदको लागि २ जना स्वतन्त्र उम्मेदवारले नाम फिर्ता लिएका छन्। आज पनौती नगरपालिकास्थित निर्वाचन कार्यालयमा उपस्थित भएर सिताराम हुमागाईं र विजयराम कर्माचार्यले उम्मेद्वारी फिर्ता लिनुभएको हो।

यस्तै, पनौती वडा नम्बर ४ को लागि वडा अध्यक्षमा उम्मेद्वारी दिनुभएका स्वतन्त्र उम्मेदवार कृष्ण बन्जाराले आफ्नो उम्मेद्वारी फिर्ता लिनुभएको निर्वाचन कार्यालय पनौतीले जानकारी दिएको छ।

यसैगरी, वडा नम्बर १० को वडा अध्यक्षका लागि उमेश भण्डारी, वडा नम्बर ११ को अध्यक्षका लागि धनबहादुर तामाङ र वडा नम्बर १२ को अध्यक्षका लागि छेत्रबहादुर तामाङले पनि आ-आफ्नो नाम फिर्ता लिनुभएको छ। उहाँहरु तिनै जना स्वतन्त्र रुपमा वडा अध्यक्षका लागि उम्मेद्वारी दर्ता गराउनुभएको थियो।

यस्तै, वडा नम्बर १ को वडा सदस्यको लागि नेकपा माओवादी केन्द्रका चन्द्रकान्त सापकोटाले पनि उम्मेद्वारी फिर्ता लिनुभएको छ।

वडा नम्बर ७ को वडा सदस्यको लागि नेकपा एकीकृत समाजवादीका चित्रबहादुर दुलाल, वडा नम्बर ९ को वडा सदस्यको लागि नेकपा माओवादी केन्द्रका राजकुमार घिमिरेले पनि आ-आफ्नो उम्मेद्वारी फिर्ता लिनुभएको हो।

पनौती नगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायतका पदमा २६८ जनाले उम्मेदवारी दर्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस