मौन अवधिमा १ लाख ४२ हजार यात्रुले उपत्यका छोडे, चुनावका लागि फर्कनेको संख्या १३ लाख पुग्ने अनुमान

नौलो समाचार संवाददाता
२०७९ बैशाख २९, बिहिबार मा प्रकाशित ३५९ पटक पढिएको
मौन अवधिमा १ लाख ४२ हजार यात्रुले उपत्यका छोडे, चुनावका लागि फर्कनेको संख्या १३ लाख पुग्ने अनुमान

बैशाख २९, काठमाडौं। स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि काठमाडौं उपत्यकाबाट मतदाताहरू बाहिरिने क्रम जारी छ।

मौन अवधिको समय मात्र एक लाख ४२ हजार ७४१ जना यात्रुले काठमाडौ उपत्यका छोडेका छन्। मौन अवधि सुरूदेखि बिहीबार बिहानसम्मको अवधिमा काठमाडौं उपत्यकाबाट १८ हजार सवारी साधनमा उक्त संख्यामा मतदाताहरू बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो चौविस घण्टामा मात्रै ८३ हजार ६६० जना यात्रु बाहिरिएका छन्। त्यो अवधिमा ३५ हजार ६५७ जना यात्रु भने काठमाडौं भित्रिएका छन्। यसअघि २७ वैशाखमा ५९ हजार ८१ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए । त्यो अवधिमा भने ४२ हजार ८३२ जना काठमाडौं उपत्यका भित्रिएका थिए।

२६ वैशाखमा ५० हजार ९३० जना यात्रु बाहिरिएका थिए। त्यस्तै २५ वैशाखमा ५५ हजार ७४६ जना यात्रुले काठमाडौं छोडेका थिए।

ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीवकुमार दासले यो संख्या अझै बढ्ने बताउनुभएको छ।

त्यस्तै, यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बिहीबारसम्म (चुनावको अघिल्लो दिन) उपत्यकाबाट बाहिरिनेको संख्या १२ देखि १३ लाखसम्म पुग्ने अनुमान रहेको बताउनुभयो।

‘सबै गाडी प्याक छन्, विशेष गरी कतिपय मतदाताले स्वतःस्फुर्त रूपमा आफैँले टिकट काटेर गएका छन् भने अधिकांश रिजर्भमार्फत गएका छन्,’ ‘अहिले हामीसँग भएका कुनै पनि सवारीसाधन खाली छैनन्, गणना गर्न सकिँदैन, गाउँ–गाउँमा सवारीसाधनको प्रयोग भएकाले पनि सवारीसाधनको चाप थप बढेको हो ।’ उपाध्यक्ष सिटौलाले भन्नुभयो।

भोलि मतदानको दिन पास बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। त्यसैले बिहीबार रातिसम्म पनि यात्रुहरू काठमाडौंबाट बाहिरिने क्रम जारी रहने ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस