पनौती नगरपालिकाद्वारा प्रदेश सरकारसंग १३१ योजनाको लागि वजेट माग

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ २०, शुक्रबार मा प्रकाशित १२९५ पटक पढिएको
पनौती नगरपालिकाद्वारा प्रदेश सरकारसंग १३१ योजनाको लागि वजेट माग

जेठ २०, काभ्रे। पनौती नगरपालिकाले वागमती प्रदेश सरकारसंग १ सय ३१ योजनाको लागि वजेट माग गरेको छ। चालु आर्थिक वर्षमा करिब ४० करोड घाटा बजेट रहेको पनौती नगरमा आर्थिक वर्ष २०७९/८० को लागि केन्द्रीय सरकारले ४५ करोड ७० लाख रुपैया विनियोजन गरेको छ।

पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीका अनुसार प्रदेश सरकारसंग बसपार्क, पुण्यमाता खोला करिडोर, पनौती खोपासीको मूल सडक कालोपत्रे गर्ने, रंगशाला निर्माणलगाएत ठुला साना गरि १ सय ३१ योजनाको लागि वजेट माग गरिएको छ।

जसमा वन, वातावरण, धार्मिक संघ संस्थाका योजनाहरु पनि समावेश गरिएको छ। प्रदेश सरकारसंग पनौती नगरभित्र तीनवटा पुल निर्माणको लागि पनि बजेट माग गरिएको छ।

कृषि मन्त्री वसुन्धरा हुमागाई तथा सांसद चन्द्र लामा समेत पनौती क्षेत्रको भएकोले प्राथमिकताका साथ पनौतीमा योजना पर्नेमा आफु ढुक्क रहेको नगर प्रमुख भण्डारी बताउनुहुन्छ।

नगरप्रमुखमा निर्वाचित भए लगत्तै आर्थिक पारदर्शिताका साथ सेवा प्रवाहलाई प्राथमिकतामा राखेर कार्य अघि बढाउन कर्मचारीहरुलाई निर्देशन दिनुभएका भण्डारीले अनियमितताका कुनैपनि गुनासो भए तत्काल खवर गर्न आग्रह गर्नु भएको छ।

पनौती नगरले आन्तरीक आयको मुख्य स्रोतको रुपमा रहेको निकासी कर संकलनको लागि साढे ३४ करोड रुपैयाको टेण्डर आव्हान गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस