असार २९, काभ्रे। नमोबुद्ध नगरपालिकाले नमोबुद्ध काव्य अनुष्ठान कार्यक्रम आयोजना गर्दै २०९ औं भानु जयन्ती मनाएको छ।
रेडियो नेपालका निर्देशक एवं साहित्यकार डा. नवराज लम्सालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रियस्तरका ख्यातिप्राप्त साहित्यकारसहित स्थानीय साहित्यकारसमेतले आफ्नो रचना बाचनसहित आदिकवि भानुभक्त आचार्यलाई सम्झिएका थिए।
नमोबुद्ध नगरपालिकाले केही बर्षदेखि बर्सेनी निरन्तररुपमा साहित्य उत्सव लगायतका साहित्यिक गतिविधि सञ्चालन गर्दै आइरहेको छ।
कार्यक्रममा प्रमुख अतिथि साहित्यकार डा. लम्सालले कला र साहित्यको विकास र सम्वद्र्धनका लागि नमोबुद्ध नगरपालिकाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। नमोबुद्ध नगरपालिका धेरै साहित्यकारहरुको जन्मभूमि रहेको स्मरण गर्दै उनले स्थानीयस्तरका साहित्यकारहरुलाई हौसला प्रदान गर्न यस्तो कार्यक्रम फलदायी हुने बताउनुभयो। आदिकवि भानुभक्तले दुई शताब्दी अघि लेखेको कुरालाई अहिलको अवस्थासँग तुलना गर्न नहुने उहाँले बताउनुभयो।
कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले नगरपालिकामा साहित्य क्षेत्रको विकासमा नगरपालिकाले आगामी दिनमा पनि थप कार्यक्रमहरु आयोजना गर्ने जानकारी दिनुभयो। नमोबुद्ध नगरपालिकामा रहेका साहित्यिक प्रतिभाहरुलाई हौसला प्रदान गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने पनि लामाले बताउनुभयो।
यस्तै प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले विकास भनेको पूर्वाधारको विकास मात्रै नभई चेतनाको विकास पनि महत्वपूर्ण रहेको भन्दै साहित्यिक क्षेत्रबाट चेतनाको विकास गर्न नमोबुद्ध नगरपालिका लागिपरेको बताउनुभयो।
कार्यक्रममा लेखक एवं समालोचक महेश पौडेललाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो। उहाँलाई प्रमुख अतिथि डा. नवराज लम्साल, नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्न लामा लगायतले सम्मान गर्नुभएको थियो।
कार्यक्रममा साहित्यकार डा. नवराज लम्साल, महेश पौडेल, डा. अशोक थापा, राजकुमार बानियाँ, आश्विनी कोइराला, भवानी खतिवडा, छविरमण सिलवाल, गोविन्द कँडेल आँसु, दृष्टि वाणी धिताल, निरज दाहाल, विलोक शर्मा, कमल कुइँकेल, दिनमान गुर्मछान लगायत राष्ट्रिय एवं स्थानीयस्तरका विभिन्न साहित्यकारहरुले आफ्नो रचना बाचन गरेका थिए।
कार्यक्रम नमोबुद्ध नगरपालिका महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख तारादेवी सुनुवारले सञ्चालनमा गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस