नक्कली कागजात बनाई जग्गा बिक्री गर्ने पक्राउ, लेखापढी गर्ने पनौती-९ का २ जना कारवाहीको दायरामा

नौलो समाचार संवाददाता
२०७९ श्रावण ४, बुधबार मा प्रकाशित २२५५ पटक पढिएको
नक्कली कागजात बनाई जग्गा बिक्री गर्ने पक्राउ, लेखापढी गर्ने पनौती-९ का २ जना कारवाहीको दायरामा

साउन ४, काभ्रे। हुँदै नभएको जग्गाको नक्कली किर्ते कागजात बनाई जग्गा बिक्री गर्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेले हुँदै नभएको जग्गाको नक्कली जग्गा धनि पुर्जा र नक्सा सिट समेत देखाई जग्गा बिक्री गरी ठगी गरेको आरोपमा धादिङ जिल्ला साविक जिवनपुर गाविस-५ घर भई हाल काभ्रेको बनेपा नगरपालिका-९ बस्ने ३७ वर्षीय रविप्रसाद रेग्मीलाई पक्राउ गरेको हो।

रेग्मीले बनेपा नगरपालिका-२ का ज्ञानबहादुर खड्गीलगायतको नाम तथा अन्य विभिन्न कित्ताको जग्गा आफ्नो नाममा रहेको भन्दै जग्गा किनवेच गर्नका लागि बैना वापतको रकम लिई ठगी गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएस्पी हरि खतिवडाले रेग्मीले नक्कली राजिनामा कागज, घर बाटोको सिफारिस पत्र, जग्गा धनि दर्ता प्रमाण पूर्जा जस्ता कागजातको आधारमा जग्गा पास गरि दिई मालपोत कार्यालयबाट जारी गरिने जग्गा धनी दर्ता प्रमाण पूर्जा समेत किर्ते गरी ठगी गरेको बताउनुभयो। उहाँले रेग्मीले हुँदै नभएको जग्गाको नक्कली कागजात तयार गरी मालपोतका कर्मचारी चिनेको छु भन्दै नक्कली पूर्जा दिई पिडितहरुबाट १ करोड २१ लाख ५० हजार रुपैंया ठगी गरेको बताउनुभयो।

प्रहरीले ठगी आरोपमा पक्राउ परेका रेग्मीको घर खानतलासी गर्ने क्रममा ८ लाख ५० हजार रुपियाँ नगद र विभिन्न कागजात बरामद गरेको छ। रेग्मी बिरुद्ध पिडितहरुले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ बमोजिम ठगी गर्न नहुने कसुर अन्तर्गत जाहेरी दर्ता गराएका छन्।

रेग्मीलाई प्रहरीले सोमबार राती बनेपाबाट पक्राउ गरेको हो भने मङ्गलबार जिल्ला अदालत काभ्रेबाट अनुसन्धानका लागि म्याद थप समेत गरेको छ।

प्रहरीले लेखापढी व्यवसाय गर्ने पनौती नगरपालिका-९ का राजन थापा र उनकी श्रीमती सिता कुमारी थापाले किर्ते कागजात बनाउन सहयोग गरेको खुल्न आएकोले उनीहरुको लेखनदास कार्यालयबाट समेत कसुरसँग प्रमाण लाग्ने विभिन्न उपकरण बरामद गरेको जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।

ठगी आरोपमा पक्राउ परेका रेग्मी विरुद्ध २०६८ असार १४ गते जिल्ला प्रहरी कार्यालय कास्की र २०६९/१२/१० गते जिल्ला प्रहरी परिसर काठमाडौंबाट ठगी मुद्दामा मुद्दा दर्ता भएको प्रहरी अभिलेखबाट समेत खुल्न आएको छ।

प्रतिक्रिया दिनुहोस