सेनाको तालिम केन्द्रलाई २५ सय रोपनी सामुदायीक वन दिने पनौती नगरको निर्णय

नौलो समाचार संवाददाता
२०७९ श्रावण ४, बुधबार मा प्रकाशित २०८९ पटक पढिएको
सेनाको तालिम केन्द्रलाई २५ सय रोपनी सामुदायीक वन दिने पनौती नगरको निर्णय

साउन ४, काभ्रे। पनौती नगरपालिकाले नेपाली सेनाको सैनिक प्रतिष्ठान निर्माण गर्नको लागि २ हजार ५ सय रोपनी सामुदायीक वन दिने निर्णय गरेको छ।

असार ३० गते बसेको कार्यपालिका बैठकले साविक मल्पी-१ बाट नाप नक्सा भएको हाल पनौती नगरपालिका वडा नम्बर ८ र ९ मा पर्ने इन्द्रेश्वर थल्पु वनको ‘ख’, ‘ग’ र ‘घ’ क्षेत्रको २ हजार ५ सय रोपनी क्षेत्रफलको वन सेनालाई प्रयोग गर्न दिने निर्णय भएको हो।

पनौती नगरका वरिष्ठ प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए अनुसार कार्यपालिका बैठकले इन्द्रेश्वर थल्पु सामुदायीक वन अन्तर्गत प्रयोग भैरहेको कित्ता नं २०९, २८९, ६१९ र ६०९ को वन सैनिक प्रतिष्ठान तालिम केन्द्रलाई दिन लागिएको हो। पनौती नगरलाई सेनाको कालिगञ्ज गणबाट जग्गा उपलब्ध गराउन माग भएबोमोजि नगरपालिकाले जग्गा दिने निर्णय गरेको हो।

वरिष्ठ प्रशासकिय अधिकृत अधिकारीका अनुसार जग्गा दिने बारे थप निर्णय गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयको भएकोले नगरपालिकाको निर्णय प्रमुख जिल्ला अधिकारीलाई पठाइएको छ। नगर कार्यपालिकाको निर्णयको बोधार्थ कालिगञ्ज गणलाई पनि पठाइएको उहाको भनाई थियो।

सेनालाई प्रतिष्ठानको लागि सामुदायिक वन दिने जिल्ला प्रशासन कार्यालयले वन कार्यालय र स्थानीय सामुदायीक वन उपभोक्ता समितिसंग पनि छलफल गरेर थप निर्णय गर्ने स्रोतको भनाई छ। नगरपालिकाले सेनाको प्रतिष्ठानलाई सामुदायीक वन दिने निर्णय गर्दा यस जग्गामा कुनै पनि संरचना बनाउन नपाईने, खुल्ला राख्नु पर्ने, स्थानिय उपभोक्तालाई हिडडुल गर्न, घासदाउरा गर्न दिनु पर्ने, भवन बनानको लागि नीजि जग्गा खरिद वा अधिग्रहण गर्नुपर्ने जनाएको छ।

साथै प्रतिष्ठान निर्माणको क्रममा सेनाले अस्पताल पनि निर्माण गर्ने भनेको छ। सेनाले यहा स्थापना गर्ने अस्पतालमा आकस्मिक वाहेक अन्य उपचारको पहुच सर्वसाधारणले नहुने स्रोतको भनाई छ। यहाँ सेनाको तालिम केन्द्र बन्दा कृषि, व्यापार लगाएत पनौती नगरको आर्थिक गतिविधि चलायमान हुने अनुमान गरिएको छ।

यता पनौती नगरको वडा नम्बर ४ को सिमावर्ति क्षेत्र लामाडोलको सामुदायीक वनको जग्गा काठमाडौं विश्वविद्यालयको स्कुल अफ ल र स्कुल अफ इजिनियरिङ अन्तर्गत आर्टिटेक अध्ययनको लागि उपलब्ध गराएपनि यो प्रक्रिया अझै सकिएको छैन। वडा नम्बर ८ र ३ मा पर्ने यो जग्गा वन मन्त्रालयको स्वीकृतीको निर्णय प्रक्रियामा पुगेर अड्कीएको वताइन्छ। पनौतीमा भारत सरकारको अर्बौ सहयोगमा नेपाल प्रहरीको प्रतिष्ठानको निर्माण कार्य पनि भैरहेको छ।

प्रतिक्रिया दिनुहोस