साउन ६, काभ्रे। पनौती नगरपालिकाले नेपाली सेनाको सैनिक प्रतिष्ठान निर्माण गर्नको लागि २ हजार ५ सय रोपनी सामुदायीक वन दिने भनि गरिएको निर्णय फिर्ता गर्न स्थानीय उपभोक्ताहरुले माग गरेका छन्।
असार ३० गते बसेको कार्यपालिका बैठकले साविक मल्पी १ बाट नाप नक्सा भएको हाल पनौती नगरपालिका वडा नम्बर ८ र ९ मा पर्ने इन्द्रेश्वर थल्पु वनको ‘ख’, ‘ग’ र ‘घ’ क्षेत्रको २ हजार ५ सय रोपनी क्षेत्रफलको वन सेनालाई प्रयोग गर्न दिने निर्णय गरि कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय पठाइएको थियो।
आज (शुक्रवार) इन्द्रेश्वर थल्पु वन उपभोक्ता समिति ‘घ’ का उपभोक्ताहरुले नगरपालिका कार्यालयमा आएर सेनाको तालिम केन्द्र निर्माणको लागि सामुदायीक वन दिने निर्णय फिर्ता गर्न माग गरेका हुन्। उपभोक्ता समितिका सदस्य विश्वेश्वर वञ्जाराका अनुसार उपभोक्ता समितिका पदाधिकारी, सदस्यहरुले नगर प्रमुख रामशरण भण्डारीलाई भेटेर जुन प्रक्रियाबाट जग्गा दिने निर्णय गरेको हो त्यहि प्रक्रियाबाट निर्णय फिर्ता गर्न अनुरोध गरिएको छ।
पनौती नगरका वरिष्ठ प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए अनुसार कार्यपालिका बैठकले इन्द्रेश्वर थल्पु सामुदायीक वन अन्तर्गत प्रयोग भैरहेको कित्ता नं २०९, २८९, ६१९ र ६०९ को वन सैनिक प्रतिष्ठान तालिम केन्द्रलाई दिन लागिएको हो। पनौती नगरलाई सेनाको कालिगञ्ज गणबाट जग्गा उपलब्ध गराउन माग भए बोमोजिम नगरपालिकाले जग्गा दिने निर्णय गरेको हो।
वरिष्ठ प्रशासकिय अधिकृत अधिकारीका अनुसार जग्गा दिने बारे थप निर्णय गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयको भएकोले नगरपालिकाको निर्णय प्रमुख जिल्ला अधिकारीलाई पठाइएको छ। नगर कार्यपालिकाको निर्णयको बोधार्थ कालिगञ्ज गणलाई पनि पठाइएको उहाको भनाई थियो।
स्थानीय उपभोक्ता समितिले जिल्ला प्रशासन कार्यालयमा पनि सेनालाई तालिम केन्द्र निर्माणको लागि सामुदायीक वन दिने प्रक्रिया रोक्न आइतवार ज्ञापन पत्र बुझाइने वडा नम्बर ८ का वडा सदस्य राजेन्द्र केसीले जानकारी दिनु भएको छ। शुक्रवार नगरपालिकाको प्रमुख संगको छलफलमा नगरपालिकाको अपुरो निर्णयको जानकारी माथिल्लो निकायमा पठाएको पाइएको भन्दै वडा सदस्य केसीले नगरकार्यपालिकाको बैठकमा अधिकाशं सदस्यहरुले सेनालाई जग्गा दिने निर्णयमा हस्ताक्षर नगरेको तथा कार्यपालिका वैठकमा छलफल पनि नभएको पाइएको बताउनु भएको छ।
सेनालाई तालिम केन्द्र निर्माणको लागि २ हजार ५ सय रोपनी सामुदायीक वन दिने जस्तो गम्भिर विषय कार्यपालिका बैठकमा विशेष प्रस्तावको रुपमा छलफल हुनु पर्ने भए पनि विविध प्रस्तावमा राखेर निर्णय गरेको भन्दै वडा नम्बर ७ का वडा अध्यक्ष सविन श्रेष्ठले भन्नुभयो- सेनालाई सामुदायिक वन दिने बारेमा कार्यपालिका बैठकमा छलफल नै भएको छैन।
सेनाको तालिम केन्द्रको लागि सामुदायीक वन दिने निर्णय बारे स्थानीय उपभोक्ताहरुको विरोध आएपछि नगर प्रमुख भण्डारीले जनताको चाहना भन्दा विपरित नजाने भन्दै निर्णय सच्चाइने बताएको वन उपभोक्ता समितिका अध्यक्ष सिताराम थापाले बताउनु भयो। ‘जनताले दिदैनन भने हामी पनि दिदैनौ’ नगर प्रमुख भण्डारीको भनाई उल्लेख गर्दै उहाले भन्नुभयो- निर्णय सच्चाउछौ।
प्रतिक्रिया दिनुहोस