वेपत्ता छोराको पर्खाइमा रहेकी बृद्धा आमालाई पनौतीका जंगम परिवारद्वारा खाद्यान्न सहयोग

नौलो समाचार संवाददाता
२०७९ श्रावण १३, शुक्रबार मा प्रकाशित ११९९ पटक पढिएको
वेपत्ता छोराको पर्खाइमा रहेकी बृद्धा आमालाई पनौतीका जंगम परिवारद्वारा खाद्यान्न सहयोग

साउन १३, काभ्रे। विगत १७ वर्षदेखि वेपत्ता भएको आफ्नो छोराको पर्खाइमा रहेकी ७५ वर्षिया आमालाई १ वर्षको लागि खाद्य समाग्री उपलब्ध भएको छ। पनौती उद्योग वणिज्य संघको उपाध्यक्ष पुनम लामा जंगम उहाँको पति जंगवहादुर जंगम र छोरा पुजन जंगमले शुक्रवार ती वृद्धाको घरमै पुगेर रासन उपलब्ध गराईदिनुभएको हो।

चामल, दाल, नुन, तेल, गेडागुडी, पिठो, चिनि लगाएतका खाद्य सामाग्री पाएपछि पनौती नगरपालिका–३ कुशादेवीकी ७५ वर्षिया मैया सापकोटा निकै खुशी हुनुभएको थियो। वर्षौसम्म पनि छोरा नभेटिए पछि विछिप्त भएकी वृद्धा आमा कुशादेवी ३ घिमिरेगाउमा बसिरहनु भएको छ। उहाले आफ्नो छोरालाई नभेटेको १७ वर्ष भैसक्यो भने विवाह गरेर दिएको एक छोरीको मृत्यु भएको पनि १२ वर्ष पुगिसक्यो। उहाँलाई वुढेसकाल लागेसंगै विभिन्न रोगले च्याप्दै ल्याएको छ। दमको रोगले अझ बढी सताउदै छ। डाक्टरले उहाँलाई पत्थरी पनि छ भनेका छन्।

यी वृद्ध आमा छोरा हराएको र एक्लै जिवन यापन गर्न समस्या भैरहेको खवर विभिन्न सञ्चार माध्यममा आएपछि आफुलाई सहयोग गर्ने भाव जागेको भन्दै पनौती उद्योग वाणिज्य संघकी उपाध्यक्ष जंगम भन्नुहुन्छ- ‘उहाँलाई आवश्यक सबै रासन दिनेछौं। अहिले करिब ३ महिनालाई पुग्ने गरि खाद्यान्न दिएको भन्दै उहाले यो सकिने बेला भएपछि पुन खवर गर्न अनुरोध गर्नु भएको छ। स्थानिय महेश थापाका अनुसार एकै पटक एक वर्षलाई गुग्ने गरि रासन दिदा घुन पुतली लागेर रासन विग्रने अवस्थालाई ध्यानमा राखि ३/३ महिनालाई पुग्ने गरि जंगम परिवारले राशन ल्याइदिएको बताउनुभयो।

पनौतीका सामाजिक अभियान्ता रामकुमार बस्नेतका अनुसार जंगम परिवारको यो सहयोगले सबैलाई मानवियता प्रति संवेदनशिल हुन शिक्षा मिलेको भन्दै सबै मिलेर उहाको छोराको खोजि गर्नु पर्ने बताउनुभयो। जंगम परिवारले यी वद्ध आमालाई औषधि खरिद गर्न केहि रकम समेत दिएका छन् । भोको पेटले खाना खोजिहाल्छ, विहान वेलुकी छाक टार्न चुल्लो बाल्नै पर्यो सकि-नसकि भएपनि एक गिलास पानि तताएर खानै पर्यो। चुल्ला माथि हरेक दिन साझ दियो बाल्दा चहखिलो भएर बल्छ। हरेक दिन साझवत्ति चहकिलो हुदा यी बुढी आमालाई वेपत्ता भएको छोरा एकदिन आमा भन्दै आउने आशा जाग्छ। आफ्नो छोरा भेट्ने अन्तिम इच्छा राखेर बाचेको बताउने मैया भन्नुहुन्छ- भगवानले मेरो इच्छा पुरा गरिदिने छन्।’

पहिला कुशादेवी बाझाचौर बस्ने मैया सापकोटाको श्रीमान विष्णुप्रसाद सापकोटाको मृत्यु भएको पनि २० वर्ष भयो। केहि वर्ष बनेपामा बसोबास गर्नुभएको मैयाको छोरा हरिप्रसाद सापकोटा २०३५ सालमा जन्मेका थिए। पिताको मृत्युपछि काजकिरिया गरेका छोरा हरिप्रसाद दुईतीन वर्ष श्राद्ध पनि गरेको बताउदै मैया भन्नुहुन्छ– ‘त्यसपछि हेटौडामा काम गर्न जान्छु भनेर गएको छोरा अहिले सम्म फर्केको छैन।’ ‘पुसका २० गते छोरा हिडेको १७ वर्ष पुग्छ’ गहभरी आशु झार्दै यी वुढीआमा भन्नुहुन्छ– छोरा आउछ भन्ने आशाले कत्ति दुख गरेर बाचिरहेको छु।

माइतीको सहयोगमा कुशादेवी ३ घिमिरे गाउमा १ रोपनी २ आना जग्गामा छाप्रो बनाएर बसिरहनु भएको वुढी आमा मैया सापकोटालाई भेट्न सञ्चारकर्मीहरु पुग्दा ढिडो पकाउन पानि उमाल्नको लागि आगो फुक्दै हुनुहुन्थ्यो। ‘बिरामी छु, अस्पताल जान सक्दिन, छोरा संगै भएको भए अस्पतालमा जचाउन लैजान्थ्यो होला’ उहाँ भन्नुहुन्छ– मेरो दुख बुझ्ने एउटा छोरी थिइ त्यसको पनि ग्यास पड्केर मृत्यु भयो। उहाको छोरी अनिताको १२ वर्ष अघि बनेपामा कोठामा भान्साको ग्यास पड्कीदा मृत्यु भएको थियो।

स्थानीय बासिन्दा महेश थापाको अनुसार यी आमाको छोराको खोजिको लागि सञ्चारकर्मीहरुलाई आग्रह गर्दै उहाँको जिवन यापनको लागि सक्दो सहयोग गर्ने बताउनुहुन्छ। छोरा हरिप्रसाद सापकोटा आउने आशामा एक्लै बाचिरहुनु भएकी यी वृद्धा आमाको दैनिकी सहज बनाउन सकेसम्म सबैले सहयोग गरौं भन्दै थापाले आफ्नो तर्फबाट निरन्तर सहयोग गरिरहेको बताउनुभयो। आफै खेति किसानी गर्न सक्नुहुन्न। भएको जग्गाको उब्जनीले खान पुग्दैन। विरामी भएको कारण सरकारले उपलब्ध गराउने वृद्धभत्ता लिन जान समेत धौ धौ हुने यी आमालाई दैनिक चाहिने खाद्यान्न र पानी ल्याउन पनि समस्या छ।

‘छोरा आइदिए हुन्थ्यो भन्ने छ, हरेक दिन साँझ बत्ति बाल्छु, उज्यालो देखिन्छ’ यी बुढी आमा भन्नुहुन्छ– अनि म विन्ति गर्दै भन्छु मेरो छोरा आइदियोस्।

प्रतिक्रिया दिनुहोस