काभ्रे कांग्रेस उम्मेदवार छनोट गर्न व्यस्त, कुन-कुन क्षेत्रमा को-को सिफारिस भए ?

नौलो समाचार संवाददाता
२०७९ भाद्र १८, शनिबार मा प्रकाशित ५८५ पटक पढिएको
काभ्रे कांग्रेस उम्मेदवार छनोट गर्न व्यस्त, कुन-कुन क्षेत्रमा को-को सिफारिस भए ?

भदौ १८, काभ्रे। मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि दलहरू उम्मेदवार छनोट गर्न व्यस्त रहेका छन्। काभ्रे जिल्लामा पनि प्रमुख दलहरू उम्मेदवार चयन लगायत चुनाव केन्द्रित गतिविधिमा जुटेका छन्।

आगामी मंसिर ४ गते हुनगइरहेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि नेपाली काँग्रेसले प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार सिफारिस गरेको छ। काँग्रेसको प्रदेश कार्य समिति र प्रतिनिधि सभा कार्य समितिले जिल्ला कार्यसमितिमा सिफारिक गरेको हो।

काँग्रेसले प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ मा तिर्थ लामालाई प्रत्यक्ष उम्मेदवारको रुपमा सिफारिस गरेको छ। लामा सर्वसम्मत सिफारिस हुनुभएको काँग्रेस काभ्रेले जनाएको छ।

काँग्रेस काभेको जिल्ला सभापति समेत रहनुभएका लामा २०७० सालको संविधान सभाको निर्वाचनमा निर्वाचित भएका थिए भने २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा पराजित हुनुभएको थियो।

यसैबीच नेपाली कांग्रेसले काभ्रेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा (क)का लागि ४ जना नेताहरुलाई प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरेको छ। प्रदेश क्षेत्रिय कार्य समितिको बैठकले जिल्ला कार्य समिति सचिब गुणराज मोक्तान, क्षेत्रीय प्रदेश सभापति राम योञ्जन, महाधिबेशन प्रतिनिधि सि.बि. लामा र दिनेश भुर्तेललाई सिफारिस गरेको छ।

यस्तै, कांग्रेसले काभ्रे क्षेत्र नम्बर १ (ख)को प्रदेश सभा समानुपातिक सांसदका लागि रोशन पाण्डेलाई सिफारिस गरेको छ। क्षेत्र नम्बर १ (ख) प्रदेश सभा क्षेत्रीय कार्यसमितिले पाण्डेको नाम सिफारिस गरेको हो।

त्यसैगरी नेपाली कांग्रेसले काभ्रेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा (ख) का लागि पनि प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरेको छ। यो क्षेत्रमा भने ३ जना नेताहरुलाई सिफारिस गरिएको छ।
प्रदेश क्षेत्रिय कार्य समितिको बैठकले केन्द्रीय सदस्य गणेश लामा, सह-सचिब रविन्द्र सिग्देल र पत्रकार इश्वरी ओझालाई सिफारिस गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस