काभ्रेमा ‘जनताको साथमा कांग्रेस’ अभियानको समापन

नौलो समाचार संवाददाता
२०७९ भाद्र २५, शनिबार मा प्रकाशित ५३५ पटक पढिएको
काभ्रेमा ‘जनताको साथमा कांग्रेस’ अभियानको समापन

भदौ २५, काभ्रे। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेसले तय गरेको ‘जनताका साथमा कांग्रेस’ अभियान काभ्रेमा सकिएको छ।

शुक्रवार एक कार्यक्रमका विच बनेपामा पहिलो चरणको अभियान समापन गरिएको हो। केन्द्रीय परिपत्र अनुसार, ७७ वटै जिल्लामा सञ्चालित अभियान काभ्रेमा भदौ १० देखि २४ गतेसम्म सञ्चालन गरिएको थियो।

जिल्ला सभापति तिर्थ लामाका अनुसार, अभियान अन्तर्गत प्रतिनिधिसभाको दुवै र प्रदेश सभाका ४ वटै निर्वाचन क्षेत्र, १३ वटै स्थानीय तह र १ सय ३५ वडा र करिब ७ सय वटै टोल समितिमा भेला, छलफल, अन्तरक्रिया भएका छन् ।

प्रतिनिधिसभा क्षेत्र नं १ ले भकुण्डेवेशीमा युवा संवाद, प्रदेश सभा क्षेत्र नं १ (क) ले भकुण्डेवेशीमा र प्रतिनिधिसभा क्षेत्र नं २ र यसका दुवै प्रदेश कार्यसमितिले संयुक्त रुपमा धुलिखेलमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिसंग अन्तरक्रिया कार्यक्रम गरेका थिए । प्रदेश सभा क्षेत्र नं १ (ख) ले पनौतीमा विशेष समारोह आयोजना सभापति चन्द्रबहादुर लामाले जानकारी दिए ।

पहिलो चरण भदौ १० देखि बीपी जन्मजयन्ती भदौ २४ गतेसम्म, दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो र निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भएपछि सञ्चालन गर्ने गरी कांग्रेसले कार्यक्रम तय गरेको थियो ।

स्थानीय तहको निर्वाचन २०७९ लाई लक्षित गरेर पार्टीले सञ्चालन गरेको ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानबाट अपेक्षित नतिजा आएको र संगठन निर्माणमा पनि सहयोग पुगेको बुझेको कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको लागि पनि देशभर सञ्चालन गर्न ‘जनताको साथमा कांग्रेस’ अभियान घोषणा गरेको थियो । अभियानको लागि कांग्रेसले देशैभरी प्रतिनिधि खटाएको थियो । प्रदेशले जिल्ला र स्थानीय तहमा र जिल्ला कार्यसमितिले स्थानीय तह र वडास्तरमा प्रतिनिधि खटाएको थियो । अभियानका लागि देशभर खटिएका केन्द्रीय प्रतिनिधिहरुले जिम्मेवारी पूरा गरेर केन्द्रीय कार्यालयमा लिखित प्रतिवेदन बुझाउनेछन् ।

समापन समारोहमा काभ्रे खटिएकी केन्द्रीय सदस्य रमा कोइराला पौडेलले काभ्रेमा कांग्रेसको पक्षमा माहौल र मत देखिएको भन्दै आफूले केन्द्रमा सोही अनुसारको प्रतिवेदन बुझाउने बताउनुभयो।

कांग्रेस केन्द्रीय सदस्य गणेश लामा, बाग्मती प्रदेश महामन्त्री कञ्चनचन्द्र बादे, प्रदेश कार्यसमिति सदस्य भगवती खड्का लगायतले आसन्न निर्वाचनमा कांग्रेसलाई जिताउन सबै एकजुट भएर लाग्न अनुरोध गर्नुभयो। कांग्रेस जिल्ला सभापति तिर्थ लामाले कुनै पनि वहानामा पार्टीमा भेदभाव नहुने भन्दै निर्वाचनमा होमिन सबैलाई अनुरोध गर्नुभयो।

प्रतिक्रिया दिनुहोस