रिताले धेरै दिनदेखि केही लेख्ने प्रयास गरिरहेकी थिइन् तर लेख्न सकिरहेकी थिइनन्। उनलाई साहित्यकार हुन रहर लागेको थियो । उनका छोराछोरी हुर्किसकेका थिए । उनका पति कुनै सरकारी कार्यालयको ठूलै हाकिम थिए। पुर्ख्यौली धन पनि निकै थियो । त्यो भन्दा बढी उनका हाकिम पतिले कमाएका थिए । त्यसैले उनलाई नपुग्दो केही थिएन ।
रिताका केही साथीहरू कवि , लेखक थिए ! प्रसिद्धि कमाइरहेका थिए । जताततै चिनिएका थिए । रिताको यत्रोविधि सम्पत्ति भएर पनि उनलाई कसैले चिन्दैनथे । उनलाई पर्नु पीर परेको थियो । जताततै चिनिन मन थियो । फिल्म क्षेत्रमा लाग्न रुपले साथ दिएन । गायनमा लाग्न पनि गलाले साथ दिएन। उनलाई जसरी पनि चर्चित हुन रहर लागेको थियो। चर्चित हुने सबैभन्दा सजिलो बाटो उनलाई साहित्य नै लाग्यो । तर ठ्याम्मै केही पनि लेख्न सकेकी थिइनन् । उनलेे के लेख्ने र कसरी लेख्ने भन्ने भेउ पाउन पनि सकेकी थिइनन् ।
धेरैदिन भैसक्यो, उनलेे केही लेख्नै सकिनन् ।उनका साथी लेखकहरु पुरस्कार पाएको फोटो फेसबुकमा हाल्थे । नयाँ किताब विमोचन गरेको फोटो फेसबुकमा हाल्थे ।यो देखेर उनको मन चसक्क हुन्थ्यो । उनी चिन्ताले ग्रस्त थिइन् । उनलाई खाना पनि रुच्न छाडेको थियो । उनको अवस्थाले उनका पतिलाई पनि चिन्तित बनायो ।
साहित्यको किताब निकाल्न मन लागेको कुरा उनलेे पतिलाई भनिन् । उनका पतिले आश्चार्य प्रकट गर्दै भने , ” किताब निकाल्न त पहिले लेख्नु परो नि डियर ।”
” अचेल किताब निकाल्न लेख्नै पर्दैन नि बुढा ! पैसा भएपछि लेखाउन पाइहालिन्छ नि । ” उनले युद्ध जितेको सिपाही झैं प्रफुल्ल हुँदै भनिन्।
” ठीक छ त उसो भए । ” उनको योजनामा उनका पति सहमत भए ।
” धन्यवाद प्यारो बुढा । म आजै मेरो नाउँमा उपन्यास लेखिदिनु भनेर भूत लेखकलाई दुई लाखको चेक दिन्छु। ”
रिताको अनुहार खुसीले धपक्क बल्यो ।
– लीलाराज दाहाल, वागमती ११, कर्मैया, सर्लाही
प्रतिक्रिया दिनुहोस