आफ्नै मनको बगैंचामा
लालुपाते फुलाएर मैले
तिमीसँग मंसिर साटिरहेको छु
सुकाएर एक घान
सपनाको बिस्कुन
जीवनका गराहरूमा छरेर
खुशीका अन्न उमार्न आँटिरहे छु ।
तिमी र म
म र तिमी
जब सँगै हुने छौं
पग्लिएर मायाको हिउँ
बग्ने छ नदी बनी
अनि हामीले
अनन्त ऐश्वर्यको सागर भेट्ने छौं
जहाँ आत्मीयताका असब्ख्य मोतीहरू
हाम्रो स्वागतार्थ
उभिएका हुनेछन् आफूलाई चम्काएर ।
म जहिले पनि
मनको खुशी पस्केर बिहान बेलुका गाँस कुर्छु
आँखामा गुलाफ फुलाएर बाटोभरि छर्छु र
हेर्छु तिम्रो बाटो ।
मन उड्छ
सिमलको भुवा जस्तै
जब मनको राजा तनमा आइ बस्छ
प्रेमको कैलाशमा बसेर
ध्यान जब गर्छाैं
जीवनको मिठो संगीत मनभित्रै पस्छ ।
-सूर्यप्रसाद लाकोजू
प्रतिक्रिया दिनुहोस