कवि सूर्यप्रसाद लाकोजूको अठारौँ कृति’मेरो घाम ‘ त्रिपन्नओटा विभिन्न कविताहरुको संग्रह हो।
सूर्यप्रसाद लाकोजूको अन्तरमनमा प्रदीप्त उक्त त्रिपन्नओटा आलोचकहरुले जी। सम्बद्ध अलगअलग विषयहरुसँग सम्बन्धको यथार्थ माधुर्यको अभिव्यक्ति दिएका छन्। कविता संग्रहको सुरुमै मङ्गलाचरणका आफ्नी ममतामयी जननी र अन्तमा आफ्नो सम्पूर्ण प्रेरणाका स्रोत जनकको श्रद्धा र भक्तिका साथ स्मरण गरिएको छ। यसबाट संसारमा मातापिताभन्दा ठूला ईश्वर पनि हुदैनन् भन्ने कुरा चरितार्थ भएको पाइन्छ।
कविता संग्रहको बिचमा विभिन्न प्रसंगमा एकाउन्नओटा कविताहरु रहेकाछन्। ती सबै आलोकहरु अत्यन्त अर्थवाहक र बोधगम्यका दृष्टिले निकै उच्च कोटिमा छन्। कविताहरुमा कुनैले राजनैतिक आशीर्वादका निम्ति राजनैतिक नाटकका नायकहरुलाई हजुरको गजुर चढाउँदै उनका लठैतहरले श्वानभक्ति देखाएकाप्रति खिन्नता जाहेर गरेका छन्। कुनैले मानव जीव स्वयममा एक युद्ध भएकाले यसबाट भाग्न खोज्नु कायरता हो मनी मानवीय चेतनामा साध लगाउँने काम गरेका छन्। कुनैले देशको मुटुमा ठडिएको ऐतिहासिक मियो धरहराको महत्वबारे चर्चा छ त कुनैले आफ्नो स्वार्थपूर्तिका लागि पदका पुजारीहरुसमक्ष हनुमन्ते चाकरी गरी आफ्नो स्वार्थगत मृगतृष्णा मेट्ने प्रवृत्ति , देशलाई के दिन सक्छु होइन देशबाट के लिन सक्छु भनी राज्यकोषमा र्याल चुहाउँनेहरुप्रति भर्त्सना प्रकट गरेका पनि छन्।
अन्य बाँकीले पनि : अहंकारको हुँकार,निराशा,शोषण,गरिबीको विवशता,कुकर्मका विरुद्ध क्रान्ति,अर्थहिनता, राजनीतिक सुझबुझ, अशान्ति,भय,त्रास, आतङ्क,यातना आदिको कहर,बाठाको स्वर्ग,बुद्ध हराएका बेला, जस्ता मानवीय संवेदना वाहक कविताहरु मननयोग्य छन्। समष्ठिमा सबै कविताहरु अत्यन्त ज्ञानबर्द्धक, सन्देशमूलक र बौद्धिक छन्।
कविताहरुले प्रत्येक मानिसले आफूमा भएको साहस,आँट, इमानदारी, देशभक्ति,राष्ट्रप्रेम, शान्ति,जनसेवा,सदाचार,परोपकार,निर्भेद्य, अक्रोध, संयम ,सदाशय,मानवता,आत्मीयता मानवीय संवेदनायुक्त महत्वपूर्ण कुराहरुलाई तिलाञ्जलि दिएर आफ्ना स्वार्थजन्य अभीष्टा पूरा गर्नेतिर मात्र सदा लीन रहने नराधमहरुप्रति कवि लाकोजूले गहिरो क्षोभ प्रकट गरेकाछन्।
अत: मानव एक मात्र विवेकशिल प्राणी भएकोले उसमा अधिकार र कर्तव्यको बोध हुनुपर्छ । दया होइन न्यायको सोच हुनुपर्छ, आपसी सद्भाव र प्रेम हुनुपर्छ, घृणा होइन सम्मानको भावना हुनपर्छ भन्ने वैचारिक प्रवाहका साथै आपसी मेलमिलाप ,सहयोग,प्रेम,सहिष्णुता, सत्य,अहिंसा,स्वाभिमान,सहअस्तित्व,समभाव जस्ता कुरामा सदा सकारात्मक सोच लिनुपर्छ, आफ्नो माटो,आफ्ना सम्पदा,सांस्कृतिक धरोहर, राष्ट्रिय गौरवपूर्ण इतिहास, भाषा,लिपि,जाति तथा संस्कृतिको संरक्षणमा निरन्तर मन,वचन र कर्मले जुट्नुपर्छ भन्ने जस्ता गहनवाहक आलोचकहरुले आलोकित कविता संग्रह पाठकहरुका निम्ति पक्कै पनि भावात्मक,ज्ञानात्मक तथा बौद्धिक खुराक बन्न सक्छ भन्ने मैंले पूर्ण विश्वास लिएको छु।
– भीमप्रससद काफ्ले
बूढानिलकण्ठ -८, सुन्दरबस्ती, तल्लो भँगाल
काठमाडौं।
प्रतिक्रिया दिनुहोस