पश्चिम नेपालमा फेरि शक्तिशाली भूकम्प, भारतको राजधानी दिल्लीसम्म हलचल

नौलो समाचार संवाददाता
२०७९ कार्तिक २६, शनिबार मा प्रकाशित ३४६ पटक पढिएको
पश्चिम नेपालमा फेरि शक्तिशाली भूकम्प, भारतको राजधानी दिल्लीसम्म हलचल

कात्तिक २६, बझाङ। पश्चिम नेपालमा फेरि शक्तिशाली भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शनिबार राति ८ बजेर १२ मिनेट जाँदा ५.४ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको केन्द्रविन्दु बझाङको पातादेवल रहेको थियो । कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । यसअघि गत २२ गते डोटी केन्द्रविन्दु भएर लगातार तीनवटा भूकम्प गएका थिए । त्यसमध्ये एक ६.६ म्याग्निच्युडको रहेको छ । भूकम्पमा मानवीय क्षति समेत भएको थियो ।

पश्चिम नेपालमा लामो समय ठूलो भूकम्प नगएका कारण भूकम्पको ठुलो जोखिम रहेको विज्ञहरुले बताउँदै आएका छन् ।

भूकम्प भारतको राजधानी दिल्लीसम्म महसुस

शनिबार राति पश्चिम नेपाल केन्द्रविन्दु भएर आएको भूकम्प भारतको राजधानी दिल्लीसम्म महसुस भएको भारतीय मिडियाले लेखेका छन् । बझाङको पातादेवल केन्द्रविन्दु भएर आएको भूकम्पको धक्का नेपालमा भने कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा महसुस भएको थियो ।

अल इन्डिया रेडियोले राष्ट्रिय भूकम्प विज्ञान केन्द्रलाई उद्धृत गर्दै उत्तराखण्डको जोशीमठबाट २१२ किलोमिटर टाढा पृथ्वीको सतहबाट १० किलोमिटर भित्रबाट आएको भूकम्पको धक्का भारतका विभिन्न क्षेत्रमा महसुस गरेको लेखेको छ ।

बीबीसी हिन्दीले सो भूकम्प झन्डै ५० सेकेन्डसम्म महसुस भएको लेखेको छ ।

प्रतिक्रिया दिनुहोस