अन्तरघातको आरोपमा एमालेले घनश्याम भुसाल र प्रभु साहसहित १२ जनालाई पार्टीबाट हटायो

नौलो समाचार संवाददाता
२०७९ मंसिर २४, शनिबार मा प्रकाशित ३५९ पटक पढिएको
अन्तरघातको आरोपमा एमालेले घनश्याम भुसाल र प्रभु साहसहित १२ जनालाई पार्टीबाट हटायो

मंसिर २४, काठमाडौं। नेकपा (एमाले)ले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ ।

आज बसेको सचिवालय बैठकले उनीहरूलाई अन्तरघात गरेको भन्दै हटाएको पार्टी प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताउनुभयो।

त्यसैगरी बैठकले केन्द्रीय कमिटीका सदस्यहरु उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रित राम, बद्री न्यौपाने, रिता साह, गंगा चौधरी र टेकबहादुर बलाम्पाकीलाई पनि केन्द्रीय सदस्य नरहने गरी कारबाही गरेको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

एमालेले चुनावमा पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै पार्टीको केन्द्रिय निकायमा रहेका वाङ्दे शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी साहलाई पनि पार्टीको जिम्मेवारीबाट हटाएको छ । त्यस्तै समानुपातिक सूचीमा रहेर पनि चुनावमा पार्टी विरोधी गतिविधिमा लागेको भन्दै जैतुन खातुनलाई पनि कारबाही गरेको छ ।

एमालेले चुनाव विरोधी गतिविधिमा लागेका अन्य तहका नेताहरुलाई पनि कारबाही गर्ने तयारी गरिरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस