काभ्रे बेथानचोक दुर्घटनाका घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न गृहमन्त्री खाँणको निर्देशन

नौलो समाचार संवाददाता
२०७९ मंसिर २७, मंगलबार मा प्रकाशित १५३५ पटक पढिएको
काभ्रे बेथानचोक दुर्घटनाका घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न गृहमन्त्री खाँणको निर्देशन

मंसिर २७, काभ्रे। गृहमन्त्री बालकृष्ण खाँणले काभ्रेको बेथानचोक गाउँपालिकाको वडा नं ४ स्थित चलाल गणेशस्थानमा मंगलबार साँझ भएको दुर्घटनाका घाइतेहरुलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पुर्‍याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले गृहसचिव विनोदप्रकाश सिंहलाई उपचारका दुर्घटनाका घाइतेको उपचारका लागि जिल्लाको स्रोत र साधनले नपुग्ने भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्न निर्देशन दिएका छन् भने प्रमुख जिल्ला अधिकारी पाण्डेलाई थप स्रोत साधन आवश्यक पर्ने भने मन्त्रालयमा लेखि पठाउन निर्देशन दिएका छन् ।

घाइतेको उद्धार र उपचारमा कुनै कसुर बाँकी नराख्न र स्रोत साधनको कमी भएमा मन्त्रालयमा लेखि पठाउन मन्त्री खाँणले निर्देशन दिएको प्रजिअ पाण्डेले बताइन् ।

प्रजिअ पाण्डेका अनुसार साँझ ६ बजेतिर बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्धका लागि बेथानचोकको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । मृतकको संख्याबारे औपचारिक पुष्टि हुन भने बाँकी रहेको उनले बताइन् । घटनास्थलमा प्रहरी पुगिसकेको उनले बताइन् ।

घाइतेहरुको शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा सवार कति थिए भन्ने यकिन नभएको र घटनास्थलबाट नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्धार कार्य जारी राखेको प्रजिअ पाण्डेले बताइन् ।

प्रतिक्रिया दिनुहोस