निर्वाचन आयाेगकाे निर्णयविरुद्ध मेयर शाहद्वारा सर्वाेच्चमा रिट

नौलो समाचार संवाददाता
२०७९ पौष १९, मंगलबार मा प्रकाशित ३३४ पटक पढिएको
निर्वाचन आयाेगकाे निर्णयविरुद्ध मेयर शाहद्वारा सर्वाेच्चमा रिट

पुस १९, काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले निर्वाचन आयोगले तोकेको जरिबानाविरुद्ध सर्वोच्च अदालतमा रिट दिनुभएकाे छ। आज मङ्गलवार मेयर शाहले सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दिनुभएकाे हो।

गएकाे वैशाख ३० गते सम्पन्न पालिका चुनावकाे खर्च ढिलो गरी बुझाएको भन्दै आयोगले मेयर शाहलगायतलाई जरिबाना तोकेको थियो । आयाेगकाे त्याे निर्णयविरुद्ध उहाँ सर्वाेच्च अदालत पुग्नुभएकाे हाे ।

आयोगले मेयर शाहलाई सात लाख ५० हजार रुपैयाँ जरिबाना तोकेको थियो । निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र चुनाव खर्चको विवरण पेस गर्नुपर्नेमा अन्तिम दिनमा सार्वजनिक बिदा परेकाले त्यसको भोलिपल्ट खर्च विवरण पेस गरेकाे उहाँले रिटमा दाबी गर्नुभएकाे छ ।

चुनावमा सात लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने भए पनि आफूले तीन लाख ९४ हजार चार सय ८९ रुपैयाँमात्र खर्च भएकाे विवरण आयोगमा बुझाएको मेयर शाहले बताउनुभएको छ । उहाँले याे मुद्दाकाे किनारा नलागेसम्म आयाेगकाे निर्णय कार्यान्वयन नगराउनका लागि अन्तरिम आदेशकाे माग गर्नुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस