बेथानचोकमा १० शैयाको आधारभूत अस्पताल निर्माण हुदै

नौलो समाचार संवाददाता
२०७९ पौष २०, बुधबार मा प्रकाशित १२९३ पटक पढिएको
बेथानचोकमा १० शैयाको आधारभूत अस्पताल निर्माण हुदै

पुस २०, काभ्रे। बेथानचोक गाउँपालिकामा १० शैयाको आधारभूत अस्पताल निर्माण हुने भएको छ।

बेथानचोक गाउँपालिकाको वडा नं. ४ स्थित गुम्बुडाँडामा १० शैयाको अस्पताल निर्माणका लागि शिलान्यास गरिएको छ।

८ करोड ९ लाख ५३ हजार निर्माण सम्पन्न हुने उक्त आधारभूत अस्पताल भवनको एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष भगवान अधिकारीले शिलान्यास गर्नुभएको छ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष अधिकारीले स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएकाले नागरिकको स्वास्थ्य प्रति गाउँपालिका गम्भीर भएर लागि गर्ने बताउनुभयो। गुम्बुडाँडा सबै वडाहरुलाई पायक पर्ने स्थान भएको बताउँदै उहाँले अस्पतालसम्म पुग्ने पक्की बाटो र खानेपानीका लागि गाउँपालिकाले पहल गर्ने बताउनुभयो। अस्पताल समयमै निर्माण गर्न निर्माण पक्षसँग आग्रह गर्दै उहाँले अस्पताल निर्माण पश्चात यसको पूर्वाधारका लागि पनि आफूहरुले पहल गर्ने बाचा गर्नुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले अस्पतालको समयमै निर्माण सम्पन्न गराउन सरोकारवाला निकायलाई आग्रह गर्नुभयो। ग्रामिण भेगमा स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न गाउँपालिका प्रतिवद्ध रहेको भन्दै उहाँले अस्पताललार्य सुविधासम्पन्न गराउन हरसम्भव प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संघीय अनुदानबाटे देशभर ५, १० र १५ शैया सम्मको अस्पताल नभएका स्थानीय पालिकाहरुमा अस्पतालको भवन बनाउने योजना अनुसार अस्पताल भवनको शिलान्यास भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिनुभयो। राष्ट्रिय स्तरको इ-बिडिङ बोलपत्र माग गरिएको अस्पताल निर्माणका लागि कूल ८ करोड ९ लाख ५३ हजार ५ सय ४२ रुपैया ६९ पैसा (भ्याट सहित) मा ब्राइट मल्टी कन्ष्ट्रक्शनले निर्माण जिम्मा पाएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो। एपी इन्जिनियरिङ डिजाइन सोलुशन प्रा.लि.ले भवनको डिजाइन गरेको बताउनुहुँदै प्रशासकीय अधिकृत भण्डारीले अस्पताल २ वर्ष भित्र निर्माण सम्पन्न भइसक्ने पनि बताउनुभयो। उहाँले अस्पताल ल्याउन उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, निवर्तमान अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्ष सबैमा आभार व्यक्त गर्नुभयो।

ब्राइट मल्टी कन्ष्ट्रक्शन प्रा.लि.का तर्फबाट दिलिप गौतमले गुणस्तरीय निर्माणमार्फत तोकिएकै समयमा निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

वडा नं. ४ का अध्यक्ष कृष्णबहादुर लामाले अस्पताललाई समुदायको नमूना अस्पतालको रुपमा लैजाने बताउनुभयो। भरत अधिकारी, कृष्ण अधिकारी र चन्द्रमणि अधिकारीको स्वस्तिबाचनसँगै शुरु भएको शिलान्यास कार्यक्रममा वडा नं. १ का अध्यक्ष एवं गाउँपालिका प्रवक्ता मधुसुधन तिमल्सिना, वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिना, वडा नं. ३ का पूर्व अध्यक्ष दिलबहादुर श्रेष्ठ, वडा नं. ४ का पूर्व अध्यक्ष लालबहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन प्रशासन अधिकृत विश्वनाथ दाहालले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस