साँगा–धुलिखेल सडकखण्ड ४ लेन विस्तारको काम सुरु

नौलो समाचार संवाददाता
२०७९ फागुन १८, बिहिबार मा प्रकाशित ३३४ पटक पढिएको
साँगा–धुलिखेल सडकखण्ड ४ लेन विस्तारको काम सुरु

फागुन १८, काभ्रे। अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्ड ४ लेन विस्तारको काम सुरु भएको छ। मापदण्डअनुसार विस्तार थालिएको सडक आयोजना कार्यालयले जनाएको छ । सोमबारदेखि बाउन्ड्री वालको संरचनाका काम थालिएको हो ।

आयोजनाका इन्जिनियर माधव पौडेलका अनुसार सर्भे सकिएसँगै सडकको वाल स्ट्रक्चरको काम अघि बढाइएको छ । साँगा–धुलिखेल खण्डको दायाँबायाँको साइट क्लियरेन्स पूरा भएकाले अब काममा अवरोध नआउने उनको भनाइ छ । सडक दायाँबायाँबाट बिजुलीका पोल र रूख हटाउने काम, खानेपानीको पाइप, ढल लाइन, टेलिकमको अप्टिकल फाइबर, मन्दिर, इनारहरू भने हटाउन बाँकी छ । यसका लागि सरोकारवाला निकायसँग छलफल गर्ने तयारी छ ।

पहिलो खण्ड साँगा–धुलिखेल ८ किलोमिटर छ। आयोजना प्रमुख राजेन्द्रप्रसाद दासका अनुसार तीन वर्षभित्र पूरा हुने गरी ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा उक्त खण्ड विस्तार ठेक्का लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले पाएको छ ।

साँगा–धुलिखेल खण्डअन्तर्गत महादेवखोला र पुण्यमाता खोलामा पुल निर्माण गरिनेछ । यसका साथै सडक खण्डका विभिन्न स्थानमा कलभर्ट निर्माण गरिने दासले बताए ।

विस्तार योजनाअन्तर्गत दोस्रो खण्ड सूर्यविनायक–साँगा पनि ठेक्का लागेको छ । ७.५ किमिको यो खण्ड ३ अर्ब ८८ करोड ९३ लाखमा ठेक्का लागेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस