काभ्रेमा गुड्ने मालवाहक सवारीले अनिवार्य भारमापन गर्नुपर्ने, तौल पुल सञ्चालन गर्ने निर्णयको विरोधमा टिपर ब्यवसायी

नौलो समाचार संवाददाता
२०८० बैशाख ६, बुधबार मा प्रकाशित १४३९ पटक पढिएको
काभ्रेमा गुड्ने मालवाहक सवारीले अनिवार्य भारमापन गर्नुपर्ने, तौल पुल सञ्चालन गर्ने निर्णयको विरोधमा टिपर ब्यवसायी

बैशाख ६, काभ्रे। जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्लास्थित राजमार्गमा गुड्ने मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको छ।

हालै सिडियो कार्यालयमा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसहितको यातायात व्यवसायी तथा सरोकारवालाको छलफलमा यहि ७ गते बिहीबारदेखि अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिइएको हो।

गृह मन्त्रालयले जिल्लाका तौलपुल सञ्चालनमा ल्याउन परिपत्र गरेपछि प्रमुख जिल्ला अधिकारी पौडेलले बिहीबारदेखि मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिइएको बताउनुभयो।

तर, तौल पुल पुन: सञ्चालन गर्ने निर्णयको विपक्षमा टिपर ब्यवसायीहरू विरोधमा उत्रिएका छन्। बागमती टिपर ब्यवसायी संघका अध्यक्ष सुरेश खत्रीले कुनै पनि हालतमा तौल पुल सञ्चालन गर्न नहुनेमा जोड दिनुभएको छ। तौल पुल सञ्चालन गर्दा ग्रहाकको माग अनुसारको सामान ओसार पसार गर्न नसकिने र त्यसको असर समग्र निर्माण तथा टिपर ब्यवसायमा पर्ने टिपर ब्यवसायीहरूको भनाई छ।

तीनै स्थानीय तहले भारमापन केन्द्र सञ्चालन गरी ‘लोडसिट’ लिई ढुवानी गर्न गराउन आग्रह गर्दै आएका थिए। पनौती र पाँचखाल नगरले भारमापन सेवाका लागि जिम्मेवारी लिएको ग्लोबल मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेज प्रालिलाई र नमोबुद्ध नगरले कोटकालिका मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेज प्रालिलाई मालवाहक सवारीसाधनको अनिवार्य भारमापन गरी गर्न-गराउन निर्देशन दिँदै आएका थिए।

मालवाहक सवारीले इच्छाअनुसार मात्रै भारमापन गर्ने गरेको ग्लोबल मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेज प्रालिका सरोज कुइँकेलले बताउनुभयो। उहाँका अनुसार सबै मालवाहक सवारीले भारमापन गर्ने हो भने सडक सुरक्षामा निकै मद्दत पुग्नेछ। निर्देशिकाअनुसार छ पाङ्ग्रेभन्दा माथि क्षमताका मालवाहक सवारीसाधनले अनिवार्य भारमापन गर्नुपर्ने हुन्छ। तौलपुलमा भारमापन गरेवापत प्रतिसवारीले एक सय ५० तिर्नुपर्ने नियम बनाइएको छ।

जिल्लास्थित दक्षिणी क्षेत्र बनेपा–खोपासी सडक, उत्तरी क्षेत्रको हेलम्बु राजमार्ग तथा अरनिको र विपी राजमार्गमा दैनिक करिब २ हजार निर्माण सामग्रीलगायतको मालवाहक सवारीसाधन चल्ने गर्दछन् । मालवाहक सवारीले क्षमताभन्दा बढी भार बोक्दा पक्की सडकसमेत बर्सेनि जीर्ण हुने गरेका छन्।

वि.सं २०७८ पुसमा काभ्रेको ३  स्थान पाँचखाल नगरपालिकाको केराघारी, पनौती नगरको नैकिन्टार र नमोबुद्ध नगरको भकुण्डेमा भारमापन केन्द्र तौलपुल व्यवस्थित गरिएको थियो । त्यसयता व्यवसायीले आनाकानी गर्दै आएका थिए । मालवाहक सवारीसाधनको भारमापन नगर्दा जिल्लास्थित राजमार्गका सडक जीर्ण बन्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस