जेठ ४, काभ्रे। बनेपा नगरपालिका वडा नम्बर ६ मा रहेको हाई भ्यु रिसोर्ट होटलमा चोरी गरेको आरोपमा धुलिखेलका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धुलिखेल नगरपालिका-३ का २२ वर्षीय अमृत तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
प्रहरीका अनुसार, बनेपा नगरपालिका-६ का हरिचन्द्र पोखरेलले संचालन गरेको हाई भ्यु रिसोर्ट होटलमा यही जेठ १ गते कोही नभएको अवस्थामा रिसोर्टबाट यूएसए, युरो र भियतनामलगायत देशका मुद्रा ५ हजार, भारतीय रुपैयाँ २० हजार, नेपाली नगद ५० हजार, विभिन्न आकारका बुद्धमूर्तिहरु, कम्युटर २ थान, आई प्याड २ थानलगायत सामान चोरी भएको थियो।
होटल संचालक पोखरेलले ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेमा दिएको निवदेनको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले तामाङलाई मंगलबार राति ११ बजे पक्राउ गरेको हो।
प्रहरीका अनुसार, प्रारम्भिक सोधपुछको क्रममा अमृतले आफु लगायत २ जना भई चोरी गरेको र उक्त चोरी गरेको सामानहरु बनेपा नगरपालिका वडा नम्बर ६ को जंगलमा लुकाएर राखेको बताएका हुन्। अमृतले दिएको विवरणको आधारमा जंगलबाट पाल्देन लामाको मूर्ति २ थान, गुरु रिम्पोछेको मूर्ति ३ थान, हरियो तारा भएको मूर्ति १ थान, मेडिसिन बुद्ध मूर्ति १ थान, सेतो ताराको मूर्ति थान १ थान, सरस्वतीको मूर्ति १ थान, लोकेश्वरको मूर्ति १ थान, लाफिङ्ग बुद्धको मूर्ति १ थान, तामाको माला तथा सामानहरु राख्ने सानो बाकस थान १, लगायत सामान बरामद गरिएको छ।
पक्राउ अभियुक्तलाई बुधबारनै जिल्ला अदालतबाट ७ दिन को म्याद लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
प्रतिक्रिया दिनुहोस