नेपालमा अहिलेसम्मकै उच्च तापक्रमको रेकर्ड, ४३ दशमलव ८ डिग्री सेल्सियस

नौलो समाचार संवाददाता
२०८० जेष्ठ २५, बिहिबार मा प्रकाशित २००० पटक पढिएको
नेपालमा अहिलेसम्मकै उच्च तापक्रमको रेकर्ड, ४३ दशमलव ८ डिग्री सेल्सियस

जेठ २५, काठमाडौं। नेपालका ४ वटा ठाउँमा अहिलेसम्मकै उच्च तापक्रमको रेकर्ड कायम भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिनदिनै गर्मी बढिरहेका बेला चार वटा सहरमा अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड भएको छ भने १३ वटा सहरमा जेठ महिनाकै उच्च तापक्रम मापन भएको छ।

देशभरका १ सय १३ वटा केन्द्रहमध्ये हिजो बुधवारसम्मको प्रारम्भिक दैनिक अधिकतम तापक्रमको तथ्याङ्कअनुसार चार वटा केन्द्र ओखलढुङ्गा, धरान बजार, कन्याम चिया बगान र दुम्कौलीमा अहिलेसम्मकै उच्चतम तापक्रम मापन भएको छ भने १३ वटा केन्द्रमा जुन महिनाको उच्चतम तापक्रम मापन भएको छ।

पानी नपर्नु र उच्च तापक्रम बढ्नुले जनजीवन प्रभावित भएको छ। लागेका बालिनालीहरु पनि सुख्खाका कारण मर्न थालेका छन्।

हिजो नवलपरासीको दुम्कौलीमा अधिकतम तापक्रम ४३ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो । यो अहिलेसम्मकै बढी तापक्रम हो । दुम्कौलीमा यसअघि सन् १९७९ मा अधिकतम तापक्रम ४३ दशमलव ७ डिग्री सेल्सियस पुगेको थियो ।

यस्तै हिजो धरानमा ३९ दशमलव तीन, ओखलढुङ्गामा ३१ र कन्याम चिया बगानमा ३० डिग्री सेल्सियस तापक्रम पुगेको छ । यी क्षेत्रमा पनि अहिलेसम्मकै उच्चतम तापक्रम मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै गौर, जलेश्वर, लहान, चतरा, विराटनगर, तरहरालगायतका ठाउँमा जुन महिनामै अहिलेसम्मकै उच्च तापक्रमको रेकर्ड कायम भएको छ।

प्रतिक्रिया दिनुहोस