बनेपा / बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामाले जिल्लाको आर्थिक उन्नती र प्रगतिमा बनेपा महोत्सव फलदायी हुने विश्वास व्यक्त गरेका छन् ।
शुक्रवार उग्रेश्वर मन्दिर परिसरमा महोत्सव उद्धघाटन गर्दै मन्त्री लामाले सुस्ताएको आर्थिक गतिविधी चलायनमान बनाउन यस्ता मेला महोत्सव उपयोगी हुने धारणा राखे । ‘संस्कृति संरक्षण, खेलकुद क्षेत्रको विकासको लागि समेत यो महोत्सव उपयोगी हुनेछ,’ मन्त्री लामाले भने, ‘आन्तरिक पर्यटन प्रवद्र्धन र समग्र काभ्रेको विकासको लागि यो महोत्सव फलदायी हुने विश्वास लिएको छु ।’ ऐतिहासिक र जीवन्त यस्ता कार्यक्रम निरन्रताको कामना गर्दै मन्त्री लामाले यस्ता कार्यक्रममा विभिन्न प्रतिभाहरुले अवसर पाउने तर्क गरे ।
कार्यक्रममा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, बनेपा वडा नं ७ का अध्यक्ष एवं कार्यवहाक मेयर हिटलर शाक्य, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, वनेपा वडा नं ५ का अध्यक्ष बलराम अधिकारी, राप्रपा जिल्ला अध्यक्ष गणेशलाल श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेका नेता जिएन सापकोटा, नेपाली कांग्रेस बनेपा नगर उपसभापति हरिशरण घिमिरे लगायतले महोत्सव सफलताको कामना गरे ।
आयोजक बनेपा ब्वाइज क्लव (बिबिसी) का अध्यक्ष महेशकुमार कर्माचार्यले भौगोलिक रुपमा बनेपामा आयोजना गरिएर बनेपा महोत्सव भनिएपनि यो काभ्रे जिल्लाकै गौरवको बिषय भएकोले सबैलाई सहयोगको अपेक्षा गरे ।
प्रतिक्रिया दिनुहोस