धुलिखेल/ स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मातृ तथा शिशु मृत्युदर कम गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
स्त्री तथा प्रसुती रोग विशेषज्ञको अन्तराष्ट्रिय सम्मेलन धुलिखेलमा उद्धघाटन गर्दै मन्त्री बस्नेतले मृत्युदर घटाउनु चुनौतीपूर्ण रहेपनि सरकार कम गर्न लागिरहेको बताए । उनले पाठेघरको क्यान्सर रोग नियन्त्रणको लागि १४ बर्षका २० हजार किशोरीमा एचपिभि भ्याक्सिन लगाइएको जानकारी दिँदै उनले उपयोगी उक्त खोप संख्या बढाउन सरकार र सबै क्षेत्रले लगानी बढाउनुपर्ने बताए । वी.पी र अरनिको राजमार्गमा हुने दुर्घटनाका घाइतेको जीवनरक्षाका लागि धुलिखेलमा स्थापना हुन लागेको ट्रमा सेन्टर उपयोगी हुने बताए । धुलिखेल अस्पतालले सहज, सफा, सस्तो र गुणस्तरीय सेवा दिएको भन्दै उत्कृष्ट सामुदायिक अस्पतालको रुपमा स्थापित भएको बताए ।
धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजूले गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्धेश्यलै नै अस्पताल स्थापना भएको भन्दै सबै क्षेत्रको साथ र सहयोगको प्रशंसा गरे । कार्यक्रममा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. अञ्जना डंगोल, डा. आभा श्रेष्ठ, डा. बनार्ड उल, डा. सुमनराज ताम्राकार लगायतले सम्मेलन विविध पक्षबारे चर्चा गरेका थिए ।
यता, स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुको अन्तराष्ट्रिय सम्मेलन धुलिखेलमा शुरु भएको छ । नेपाल र जर्मनीमा रहेका स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुको संस्था (GNESOG) को आयोजनामा धुलिखेल अस्पतालको अडिटोरियम हलमा सम्मेलन शुरु भएको हो ।
‘महिलाको स्वास्थ्य र स्वस्थता सम्वद्र्धन गर्ने’ नारा सहित असोज २४ र २५ गते चल्ने सम्मेलनमा निःसन्तान, रजनोवृत्ति, पाठेघरको जन्मजात विकृती, गर्भवती बेलाका मेडिकल समस्याहरु, प्रसवोत्तर अधिक रक्तश्राव, स्त्री रोग सम्बन्धी व्यापारोस्कोपी शल्यक्रिया, इन्डोमेट्रिओसिस, पाठेघरमा मास पलाउने, असामान्य महिनावारीबारे छलफल हुने हुने वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ समेत रहेका धुलिखेल अस्पतालका मिडिया तथा सञ्चार विभाग प्रमुख डा. सुमनराज ताम्राकारले जानकारी दिए ।
देशभरका १०० जना सहभागी छन् । गर्भावस्थाका जटिलता, गर्भावस्थामा हुने मधुमेह, थाइराड लगायतका बिषयमा नेपाल र जर्मनीका गरि करिब १ दर्जन विशेषज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस