काभ्रेबाट गैरआवासीय नेपाली नागरिकता वितरण शुरु

गैरआवासीय नेपालीले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने छन्
नौलो समाचार संवाददाता
२०८० कार्तिक २३, बिहिबार मा प्रकाशित ८२८ पटक पढिएको
काभ्रेबाट गैरआवासीय नेपाली नागरिकता वितरण शुरु

धुलिखेल \ जिल्ला प्रशासन कार्यालय काभ्रेबाट गैरआवासीय नेपाली नागरिकता नागरिकता वितरण थालिएको छ । हाल क्यानडा बसोबास गरिरहेका बनेपा–९ निवासी ६७ वर्षीय श्यामकृष्ण डंगोललाई नागरिकता वितरण गरेर यसको सुरुवात गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० पारित भएर राजपत्रमा प्रकाशित भएपछि गैरआवासीय नेपाली (एनआरएन) हरुका लागि गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने बाटो खुला भएको हो । गैरआवासीय नेपाली नागरिकताको प्रावधान नेपालको इतिहासमै पहिलो हो । नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ अनुसार गैरआवासीय नेपालीले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने छन् । गैरआवासीय नेपाली नागरिकता पाएकाहरूले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन् ।

नियमावलीका प्रावधान अनुसार, यस्तो नागरिकता लिन चाहने गैरआवासीय नेपालीले आफू वा आफ्नो बाबु, आमा बाजे वा बजैमध्ये १ जनाको नेपाली नागरिकताको आधारमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन सोही नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्ने व्यवस्था छ । यसका अलावा हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि, नेपालको संविधान मान्ने प्रतिबद्धता, विदेशी नागरिकता लिएको प्रमाण आदि कागजात पेस गर्नुपर्नेछ । यस्तो नागरिकताको प्रमाणपत्र लिन विदेशबाटै आवेदन दिन पाउने भएका छन् । संशोधित नियमावलीअनुसार गैर आवासीय नेपालीले विदेशकै राजदूतावास वा महावाणिज्य दूतावासमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ । सार्क राष्ट्रमा बसोबास गर्नेहरूले भने गैरआवासीय नेपाली नागरिकता पाउने व्यवस्था छैन ।

२०८० भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिकता नियमावली तेस्रो संशोधन पारित गरेको थियो।

प्रतिक्रिया दिनुहोस