शंखुपाटीचौरको विकासमा योगदान दिनेहरु सम्मानित

३ जना सुकुम्बासीलाई सापकोटाको पहलमा यो बर्ष घर बनाइने
नौलो समाचार संवाददाता
२०८० मंसिर ४, सोमबार मा प्रकाशित ८०७ पटक पढिएको
शंखुपाटीचौरको विकासमा योगदान दिनेहरु सम्मानित

शंखुपाटीचौर \ साविक शंखुपाटीचौर गाविसका विकासको लागि योगदान गर्ने सबै क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । सोमबार शंखेश्वरी नारीचेतना सिपमुलक सहकारी संस्थाको आयोजनामा स्थानीय समाजसेवी गोविन्दप्रसाद सापकोटा सहआयोजक रहेर गरिएको कार्यक्रममा साविक शंखुपाटीचौर गाविस (हालको धुलिखेल १२) का विभिन्न क्षेत्रमा योगदान दिने ५० जना भन्दा बढीलाई सम्मान गरिएको हो ।

‘समाजमा सबैले आफ्नो क्षेत्रबाट योगदान गरेका हुन्छन्, ती योगदानले नै समाज विकास भएको हुने हुँदा उनीहरुको कदर स्वरुप सम्मान गरिएको हो,’ सहआयोजक रहेका गोविन्दप्रसाद सापकोटाले बताए । कृषक, श्रमिक, व्यापारी, व्यवसायी, समाजसेवी, पेशाकर्मी लगायतलाई सम्मान गरिएको थियो ।

नारी चेतना केन्द्रका संस्थापक अध्यक्ष प्रतिभा सुवेदी, नमोबुद्ध नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, धुलिखेल नगर उपप्रमुख निराजन जंगम, धुलिखेल वडा नं १२ का वडाअध्यक्ष मोहनप्रसाद लामिछाने, वडा नं १० का अध्यक्ष गोविन्दप्रसाद उपाध्याय भण्डारी लगायतले उनीहरुलाई सम्मान गरेका थिए ।

संस्थापक अध्यक्ष भण्डारीले समाजमा कसैले ध्यान नपु¥याएका मानिसहरुलाई सम्मान गरेर समाजसेवी सापकोटा र केन्द्रले उदाहरणीय काम गरेको बताइन् ।

नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले सापकोटाले शुरु गरेको समाजसेवाको कार्यमा नगरपालिकाले सहयोग गर्ने बताए ।

उपप्रमुख रत्नबहादुर लामाले यस्तो कामको सबैले अनुशरण गर्नुपर्ने बताए ।

धुलिखेल नगर उपप्रमुख निराजन जंगमले जनप्रतिनिधीको रुपमा आफूले पाउने सेवासुविधा समाजसेवामा लगाउने गरेको बताउँदै आफू पनि सहकार्य गर्न तयार रहेको बताए ।

धुलिखेल वडा नं १२ का वडाअध्यक्ष मोहनप्रसाद लामिछाने, वडा नं १० का अध्यक्ष गोविन्दप्रसाद उपाध्याय भण्डारी, कार्यक्रम संयोजक भगवती अधिकारी सापकोटा, सुवर्ण श्रेष्ठलगायतले समाजसेवाका यस्ता कार्य निरन्तर हुने र सबैको सहयोगको अपेक्षा गरे ।

सरकारी सेवामा रहेका गोविन्दप्रसाद सापकोटाको पहलमा सहयोग संकलन गरी स्थानीय अर्जुनबहादुर सापकोटालाई ४ लाख १५ हजारको लागतमा घर निर्माण गरी हस्तान्तरण गरिएको छ । सापकोटाले धुलिखेल १२ मा कोही पनि घरबासविहिन हुनुनपरोस् भन्ने आफ्नो अभिप्राय रहेको भन्दै यसै बर्ष थप ३ जनालाई घर बनाइदिने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस