धुलिखेल\ उच्च रक्तचाप नियन्त्रण गर्न काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै स्थानीय तहका सरोकारवालासंँग अन्तरक्रिया गरिएको छ ।
उच्च रक्तचाप हुनेको पहिचान, परिक्षण, जोखिम न्युनिकरण नियन्त्रण गर्ने उद्धेश्यले नेपालमा नै पहिलो काभ्रेपलाञ्चोक जिल्लामा जिल्लामा शुरु गरिएको ‘बागमती काभ्रेपलाञ्चोक हाइपरटेन्सन केयर क्यासकेड इनिसिएटिभ्स’ अन्तर्गत धुलिखेलमा दुई दिवसीय कार्यशाला थालिएको हो ।
विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा तीनै तहका सरकारको सहभागितामा शुरुवात भएको कार्यक्रम जिल्लाका १३ वटै पालिकामा लागू गरिएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका निमित्त प्रमुख अनिता खनालका अनुसार, पहिचान, निदान, उपचार र नियन्त्रणको लागि अभियान अन्तर्गत काम गरिनेछ ।
अभियान अन्तर्गत १३ वटै स्थानीय तहका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिमका साथै न्युनतम उपकरण समेत प्रदान गरिएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेका जनस्वास्थ्य निरिक्षक दिपेन्द्रकाजी श्रेष्ठका अनुसार, काभ्रेमा उच्च रक्तचापको सम्भावित जोखिममा रहेका ५० हजार ५० जनामध्ये पहिलो बर्षमा १५ प्रतिशतलाई सेवा प्रदान गरिने लक्ष्य छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले मानिसमा बढ्दो आकंंक्षा पुरा नहुँदा उच्च रक्तचापको समस्या बढिरहेको तर्क गरे । उनले स्वास्थ्य क्षेत्रलाई जति प्राथमिकतामा राख्नुपर्ने हो त्यति राख्न नसकेको स्विकार्दै नागरिकलाई स्वस्थ राख्ने आफ्नो उद्धेश्य रहेको बताए ।
वागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक शारदाप्रसाद घिमिरेले नसर्ने रोगको प्रकोप देखिएको भन्दै मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमसंग पनि सहकार्य गरेर उच्च रक्तचाप नियन्त्रण गर्न लागिएको बताए ।
वागमती प्रदेश स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखा प्रमुख डा. खगेश्वर गेलालले नेपालमा नै नमूनाको रुपमा शुरु गरिएको अभियानको सफलताका आधारमा अन्यत्र लागू गरिने बताए ।
प्रतिक्रिया दिनुहोस