सामाजिक सञ्जालमा अंकुराएको ‘अन्तरजातीय’ प्रेमलाई विवाहमा परिणत गरे उद्धव र लक्ष्मीले

नौलो समाचार संवाददाता
२०८० मंसिर २३, शनिबार मा प्रकाशित ५४० पटक पढिएको
सामाजिक सञ्जालमा अंकुराएको ‘अन्तरजातीय’ प्रेमलाई विवाहमा परिणत गरे उद्धव र लक्ष्मीले

धुलिखेल \ नुवाकोट, बेलकोटगढीका २७ बर्षीय उद्धव खतिवडा र धुलिखेलकी २५ बर्षीय लक्ष्मी विसुन्खेविच सामाजिक सञ्जाल फेसबुकमार्फत नै चिनजान भयो । करिब २ बर्ष एक अर्काविच कुराकानी हुँदाहुँदै प्रेम अंकुरण भएको उनीहरुले मेसो नै पाएनन् । शनिवार यही ‘अन्तरजातीय’ प्रेमलाई उनीहरुले बिवाहमा परिणत गरी दाम्पत्य जीवन शुरुवात गरेका छन् ।

शनिवार बेहुला उद्धव बैण्डबाजा बजाएर जन्ती लिइ बेहुली लक्ष्मीको घर आएका थिए । लक्ष्मी बेहुलीको पहिरनमा उद्धवलाई स्वागत गर्न पर्खिरहेकी थिइन् । लक्ष्मीका अभिभावकले जन्तीलाई स्वागत गरे, जन्ती र घरगाउँलेले भोज खाए र सनानत वैदिक विधी अनुसार विवाह सम्पन्न भयो ।

‘भेट त हाम्रो सामाजिक सञ्जालमा नै भएको हो,’ बेहुला उद्धवले भने, ‘विस्तारै प्रेम बस्दै गयो, म विदेशमा नै थिए, सबै कुरा उतैबाट मिलाएर बिवाह गर्ने ठूलै निर्णय गरियो ।’

बेहुलीका दाजु सरोजले सामाजिक रुपान्तरणको लागि अरुलाई पनि प्रेरणा होस् भन्नको लागि यस प्रकारको निर्णय गरिएको बताए ।

विवाह समारोहमा सहभागी श्रीकृष्ण प्रणामी युवा परिषद् काठमाडौंका अध्यक्ष राजकुमार गजुरेलले शास्त्रले सबै समान भनेको बताउँदै जातीय विभेद अन्त्य भएको सन्देश दिन विवाह सफल हुने विश्वास व्यक्त गरे ।

नवदम्पतीलाई बधाई ज्ञापन गर्न समारोह स्थलमा रहेकी प्रतिनिधीसभा सदस्य रुकमणि राना बराइलीले मानिसको कुनै जात नहुने तर्क गर्दै दुवै जनाको निर्णयले आफूलाई खुशी बनाएकोे बताइन् ।

प्रतिक्रिया दिनुहोस