धुलिखेल \ ‘अन्तर जिल्ला सरुवा’का बिषयमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख चेतकुमार पोखरेलविच भएको विवादले उग्ररुप लिएको छ ।
प्रमुख गौतमले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव श्रोत विकास केन्द्र समेत गएर पोखरेललाई फिर्ता नबोलाए कार्यालय नै पस्न नदिने चेतावनी दिएपछि उनी बुधबार नै मन्त्रालय हाजिर हुने गरी फिर्ता भएका छन् ।
सिन्धुपाल्चोकबाट काभ्रे सरुवा भएर आउन चाहने ३ शिक्षकको फाइल अगाडी नबढाएपछि गौतमले पोखरेलविरुद्ध एक्सन लिएका हुन् । ‘नियम विपरितका काम गर्ने, शिक्षकलाई आनवस्यक दुख दिएपछि मैले फिर्ता नगए कार्यालय प्रवेशमा रोक लगाउने चेतावनी दिएको हुँ,’ नौलोसमाचार संगको टेलिफोन कुराकानीमा उनले भने ।
गौतमको सचिवालयमार्फत जारी भएको विज्ञप्तिमा ‘निज चेत कुमार पोखरेलले शिक्षक र विद्यालयका समस्यालाई गम्भीर रुपमा नलिने, सामान्य कामलाई पनि पटकपटक बोलाई दुःख दिने, कार्यालयमा नबस्ने गरेको पाईएकाले निजको कार्यसम्पादनको बिषयलाई लिएर निजलाई १२ घण्टा भित्र मन्त्रालय तानेर कारबाही प्रक्रिया अगाडी बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुरोध गरिएको र तोकिएको समयसीमा भित्र मन्त्रालयबाट निजलाई काभ्रेपलाञ्चोक जिल्लाबाट नतानेको खण्डमा भोली मिति २०८० माघ ४ गते कार्यालय प्रवेशमा रोक लगाउने र थप कारबाहीका लागि अगाडी बढ्ने व्यहोरा अवगत गराउँदछु,’ भनि उल्लेख थियो ।
पोखरेलले भने नियम भन्दा बाहिर गएर दिएको निर्देशन पालना नगर्दा आफू फिर्ता हुनुपरेको बताए । ‘अन्तर जिल्ला सरुवा हुन १ बर्ष नभइ मिल्दैन, मैले नियममा नभएको कुरा गर्दिन भन्दा विवाद भएको हो,’ पोखरेले भने, ‘उहाँले भनेको जस्तो दुव्र्यवहार भएको केही हैन, मलाई मन्त्रालयमा आउन भनिएको छ, अब काभ्रे फर्किन्न ।’
प्रतिक्रिया दिनुहोस