भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाले महिला जनप्रतिनिधी र महिला संस्थाहरुको लागि लैंगिक हिंसा, मानव बेचविखन र बालमैत्री स्थानीय शासनबारे अभिमुखिकरण शुरु गरेको छ ।
महिलाहरुको क्षमता विकास गर्ने उद्धेश्यले ११ वटै वडामा अभिमुखिकरण सञ्चालन गरिने नगरपालिका महिला, बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिइन् ।
सोमबार वडा नं २ र ४ बाट शुरु भएको अभिमुखिकरण फाल्गुन १६ गतेसम्म सबै वडामा सञ्चालन हुने उनले जानकारी दिइन् ।
सहभागीलाई मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले मानवबेचबिखन, लैंगिक हिंसा, यसका असर न्युनिकरणका उपायका बारे अभिमुखिकरण गरेका छन् ।
बालमैत्री स्थानीय शासन, यसका सूचक र सरोकारवालाको भूमिकाको बारेमा बालबालिकाको क्षेत्रमा काम समेत गरेका सञ्चारकर्मी नगेन्द्र अधिकारीले सहजीकरण गरेका छन् ।
महिलाका सबालमा नमोबुद्ध नगरपालिकाबाट भएका प्रयासबारे उपशाखा प्रमुख सुनुवारले जानकारी गराएकी थिइन् ।
महिलाका सवालमा नमोबुद्ध नगरपालिका सदैव सकरात्मक रहेको भन्दै उनले बालमैत्री नगर तथा वडा घोषणाको लागि सरोकारवाला सबैको उत्तिकै भूमिका हुने बताइन् ।
प्रतिक्रिया दिनुहोस