काभ्रेमा जलेको अवस्थामा फेला परेको शव दोलखाका सुवेदीको

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ १, मंगलबार मा प्रकाशित २६५ पटक पढिएको
Post Thumbnail

बनेपा / पाँचखाल नगरपालिका वडा नं ४ स्थित विराजे खोल्सा जंगलमा जलेको अवस्थामा फेला परेको शव दोलखाको भीमेश्वर नगरपालिका २ राम्पाका बिष्णुप्रसाद सुवेदीको भएको खुलेको छ ।

वैशाख २८ गते जिरोकिलो–मेलम्ची सडक खण्डबाट करिब ५० मिटर तल खोल्सामा फेला परेको शवको बारेमा अनुसन्धान गर्ने र परिक्षण गर्ने क्रममा शव १० दिनदेखि वेपत्ता भएका सुवेदीको भएको पत्ता लागेको हो ।

मुख र छातीमा फलामको तारले बेरेर रुखमा बाधिएको शवको सनाखत हुन नसकेपछि प्रहरीले हत्या भएको हुन सक्ने भन्दै अनुसन्धान अघि बढाएको थियो ।

घटना विवरण अनुसार, बैशाख २३ गते ललितपुरको टिकाथलीस्थित घरवाट मोबाइल समेत घरमा नै छोडेर दोलखा जाने भनेर निस्किएका थिए । २३ गते जिरो किलोको एक होटलमा बसेका उनले होटल सञ्चालकको मोबाइलबाट फोन गरेर केही दिन नफर्कने बताएका थिए । त्यसपछि सुवेदी सम्पर्कमा नभएपछि परिवारले २४ गते जिल्ला प्रहरी कार्यालय काभ्रेमा खोजतलासको लागि निवेदन दिएका थिए ।

परिवारले दिएको हुलियामा सुवेदीको माथिल्लो भागको ३ वटा र तलको भागको दाँयापट्टिको ४ वटा र बाँयापट्टिको ५ वटा दाँत भरेको (नक्कली) जनाएका थिए । पोष्टमार्टमा सोही प्रकृतिको दाँत भएपछि शव सुवेदीको भएको पुष्टी भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रहेका प्रहरी नायब उपरिक्षक (डीएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस