Advertisement
SKIP THIS

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन मात्रै हैन कांग्रेसले सडक आन्दोलन पनि थाल्नुपर्छ : कांग्रेस केन्द्रीय सदस्य संग्रौला

नेपाली कांग्रेस काभ्रे स्थानीय तहमा अन्तरक्रिया गर्दै
नौलो समाचार संवाददाता
२०८१ जेष्ठ २, बुधबार मा प्रकाशित ३४३ पटक पढिएको
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन मात्रै हैन कांग्रेसले सडक आन्दोलन पनि थाल्नुपर्छ : कांग्रेस केन्द्रीय सदस्य संग्रौला

तेमाल / नेपाली कांग्रेसका केन्द्रीय सदस्य डीला संग्रौलाले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका बारेमा संसदीय छानबिन मात्रै नभइ कांग्रेसले सडक आन्दोलन पनि थाल्नुपर्ने तर्क गरेकी छन् ।

नेपाली कांग्रेस काभ्रेले तेमालमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य संग्रौलाले लामिछानेलाई सुन पानी छर्केर चोख्याउने प्रयास भएको भन्दै नागरिकको खर्बौ रकम सुरक्षाको लागि कांग्रेसले साथ दिनुपर्ने बताइन् । ‘चितवनमा गृहमन्त्री गएर जीवी राईलाई अघिल्लो सरकारले भगायो भन्नुभयो, अघिल्लो सरकार समेत नेतृत्व गरेका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनमा नै गएर भगाएको हैन भन्नुभयो,’ उनले भनिन्, ‘सुनपानी छर्केर छर्केर चोख्याउने प्रयास भइरहेको छ, यसका लागि संसदीय छानबिन त हुनैपर्छ, कांग्रेसले सडक आन्दोलन पनि गर्नुपर्छ ।’

गिरीबन्धु टि स्टेट प्रकरणमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै कानून बनाएर हदबन्दी भन्दा बढी जग्गा कारोबार गर्न दिएर नीतिगत भ्रष्टाचार गरेको भन्दै अदालतले उक्त कारोबारलाई गलत प्रमाणित गरेको तर्क गर्दै यस्ता मुद्धा कांग्रेसले उठाउनुपर्ने बताइन् ।

गठबन्धनको वर्तमान सरकारको नीति तथा कार्यक्रममा युवालाई स्वदेशमा नै रोजगारीका अवसरका बारेमा कुनै पनि बिषय र योजना नसमेटिएको भन्दै आलोचना गरिन् ।

अबको बाटो आर्थिक क्रान्ति भएको भन्दै उनले वी. पी. कोइरालाको प्रजातान्त्रिक समाजवादबाट मात्रै त्यो सम्भव भएको बताए ।

कांग्रेसका संसदीय र सांगठनिक गतिविधीले अरु अलोकतान्त्रिक दलहरु अतालिएको भन्दै उनले कांग्रेस पार्टीमा एकता, भातृत्व, नेता र कार्यकर्ताविचको जीवन्त सम्बन्ध आवस्यक रहेको तर्क गरिन् ।

नेपाली कांग्रेस काभ्रेका सभापति रहेका बाग्मती प्रदेशका पूर्वमन्त्री लामाले काभ्रेमा जनप्रतिनिधीमार्फत जनताको काम गर्ने एक मात्र पार्टी कांग्रेस भएको दाबी गर्दै आफू प्रदेश सरकारमा हुँदा जिल्लामा करिब पौने ५ अर्वको योजना कार्यान्वय गराएको बताए । बलियो, संगठित र विचारसहितको कांग्रेस बनाउन अनुरोध गर्दै उनले २०८४ सालमा हुने निर्वाचनमा पनि कांग्रेसलाई पहिलो पार्टी बनाउन सकिने तर्क गरे ।

कार्यक्रममा नेपाली कांग्रेस बाग्मती प्रदेश कार्यसमितिका सदस्य गुमान सिं लामा, नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेशप्रसाद हुमागाई, नेता अच्युत पौडेल, सचिव माधव ढकाल, कोषाध्यक्ष जगन्नाथ गिरी, प्रवक्ता सन्तमान तामाङ, महासमिति सदस्य इश्वरी ओझा, प्रतिनिधी सभा क्षेत्र नं १ का कार्यवहाक सभापति चन्द्रबहादुर लामा, नेपाल तामाङ संघ काभ्रेका अध्यक्ष रिमबहादुर तामाङ, तेमाल गाउ“पालिका अध्यक्ष चन्द्रबहादुर तामाङ, पूर्व अध्यक्ष सलाम सिं तामाङ, महाधिवेशन प्रतिनिधी शान्ती लामा, तेमाल गाउँपालिका कार्यसमितिका सभापति ज्ञानबहादुर तामाङ, सचिव भीमलाल दोङलगातयले यस्ता कार्यक्रमले संगठन चलायमान, चुस्त, दुरुस्त हुने विश्वास व्यक्त गर्दै २०८४ सालमा कांग्रेसलाई पहिलो पार्टी बनाउन सबै लाग्नुपर्ने बताए ।

अन्तरक्रियामा पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, जिल्ला, प्रतिनिधी सभा, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख, प्रतिनिधी, क्षेत्रीय प्रतिनिधी, वडा इकाई सभापति, जनप्रतिनिधी लगायतको सहभागिता थियो ।

प्रत्येक महिनाको २ गते जिल्ला कार्यसमितिको घुम्ती (मोबाइल) बैठक शुरु गरेको कांग्रेसले ती पालिकामा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधीसँग विकास निर्माण, सेवा प्रवाह, सम्भावना, चुनौती र पार्टीसंगको अन्तरसम्बन्ध लगायतका बिषयमा अन्तरक्रिया थालेको हो ।

प्रत्येक स्थानीय तहमा हुने अन्तरक्रियामा त्यहाँको वस्तुस्थिती, पार्टी सदस्यको मनस्थिती, सांगठनिक अवस्थाका बारेमा समिक्षा, रणनीति निर्माण हुनेछ । सबै स्थानीय तहमा पुगेर स्थानीय सरकार सञ्चालनको लागि सल्लाह, सुझाव समेत संकलन गर्ने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस