खानीखोलामा वडा–वडामा सामाजिक सुरक्षा भत्ता, वडा नं ६ मा छाता र लौरो उपहार

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ ६, आईतबार मा प्रकाशित १७१ पटक पढिएको
खानीखोलामा वडा–वडामा सामाजिक सुरक्षा भत्ता, वडा नं ६ मा छाता र लौरो उपहार

तालढुंगा / गाउँपालिकाको केन्द्रमा रहेको बैंक सम्म आउन भौगोलिक रुपमा असहज भएपछि खानीखोला गाउँपालिकाले वडा वडामा नै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

सडक र यातायातको असुविधा रहेको गाउँपालिकाले जेष्ठ नागरिक, एकल, पूर्ण अपांगता भएकालाई वडा तहमा नै भत्ता उपलव्ध गराएको हो ।

सरकारले सामाजिक सुरक्षा भत्ता बैंक खातामा पठाउन अनिवार्य गरेपछि भौगोलिक रुपमा विकट क्षेत्रमा लाभग्राहीले समस्या भोग्दै आएका छन् ।

एस वि आइ बैंक तालढुंगाको सहकार्यमा गाउँपालिकाले तेस्रो त्रैमासिक अवधीको सामाजिक सुरक्षा भत्ता उपलव्ध गराएको प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले जानकारी दिए ।

पञ्जिकरण शाखा प्रमुख खगेन्द्र खुलालका अनुसार, आइबारसम्म वडा नं १ देखि वडा नं ६ सम्म सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

आइतबार गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाको प्रमुख अतिथ्यतामा वडा नं ६ मा जेष्ठ नागारिक, एकल, पूर्ण अपांगता भएकालाई भत्तासंगै जेष्ठ नागरिकलाई छाता र लौरो वितरण गरियो ।

उपाध्यक्ष जिम्वाले सिस्टम (प्रणाली) को समस्याले गर्दा भत्ता वितरण केही ढिला भएतापनि जनताको घर र वडाबाटै सेवा दिनकालागी स्थानीय सरकार उपस्थित भएको बताए ।

वडा अध्यक्ष बृहस्पति घिसिङले वडाबाटै सामाजिक सुरक्षा भत्ताको सेवा दिन पाउँदा धेरै खुसी भएको भन्दै जनताको समस्या र मतको कदर गर्दै सेवामा सदाबहार लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा वडा सदस्य देवन सिं लामा, एस वि आइ बैंकका तालढुंगा प्रमुख विनय अधिकारी, स्थानीय समाजसेवी प्रेम लामा थोकर, वडा सचिव खगेन्द्र थापा लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस