खानीखोलामा बृहत स्वास्थ्य शिविर, गाउँघरमा नै विशेषज्ञ सेवा पाउँदा स्थानीय खुशी

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ ८, मंगलबार मा प्रकाशित ३६२ पटक पढिएको
खानीखोलामा बृहत स्वास्थ्य शिविर, गाउँघरमा नै विशेषज्ञ सेवा पाउँदा स्थानीय खुशी

तालढुंगा /  जनस्वास्थ्य कार्यालय काभ्रेले खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगामा बहृत स्वास्थ्य शिविर गरेको छ ।

गाउँपालिकाको समन्वयमा कार्यालयले भौगौलिक रुपमा विकट मानिने डाँडापारी क्षेत्रको तालढुंगामा विभिन्न विधाका विशेषज्ञ चिकित्सकसहित शिविर आयोजना गरेको हो ।

एकिकृत जनस्वास्थ्य तथा पोषण प्रवद्र्धन अभियान अन्तर्गत विकट क्षेत्रमा विशेषज्ञ सेवा दिने उद्धेश्यले शिविर गरिएको जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले बताइन् ।

जेठ ८ र ९ गते चल्ने शिविरमा सामान्य चिकित्सा, हाडजोर्नी, नाक, कान, घाँटी, आँखा, दाँत, स्त्री तथा प्रसुती, छाला रोगसम्बन्धी विशेषज्ञ चिकित्सकले स्वास्थ्य परिक्षण, उपचार र परामर्श सेवा प्रदान गरेका थिए । यसका अलावा प्रयोगशाला परिक्षण र निशुल्क औषधी वितरण गरिएको कार्यक्रम संयोजक रहेका जनस्वास्थ्य कार्यालय काभ्रेका परिवार नियोजन अधिकृत पद्मराज कैनीले जानकारी दिए ।

इन्टरनल मेडिसिनका विशेषज्ञ डा. दिपक ढकाल, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. सुविन व्यञ्जनकार, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सिर्जना रावल, बालरोगका डा. लिजा पुरी, आँखा रोगका डा. राहुल गुप्ता, नाक, कान, घाँटीका डा. अनिल पाण्डे, छालारोगका डा. अनुराग तिवारी, दन्त रोगका डा. अल्बिना घिमिरे, जनरल फिजिसियन डा. विज्ञान लामिछाने, अप्थाल्मिक असिस्टेन्ट पुजा कार्की, फार्मेसी अधिकृत प्रवेश आचार्य, स्वास्थ्य अधिकृत नविन रेग्मी, जनस्वास्थ्य अधिकृत अनिता खनालसहित खानीखोला गाउँपालिका स्वास्थ्य शाखाका निमित्त प्रमुख दुतराज थापा मगरसहित तालढुंंगाा स्वास्थ्यचौकीसहितको स्वास्थ्यकर्मीको टोलीले सेवा दिएका छन् ।

गाउँमा नै सेवा पाउँदा स्थानीयले खुशी व्यक्त गरिन् । स्वास्थ्य उपचारको लागि धुलिखेल अस्पताल जाने गरेकी इन्द्रकुमारी खुलालले विशेषज्ञ डाक्टर नै गाउँ आएपछि खुशी व्यक्त गरिन् । ‘उपचारको लागि बनेपा, धुलिखेलका अस्पताल जाने गरेका थियौं, अहिले डाक्टरहरु नै गाउँ आएपछि धाएर जानुपरेन, निकै खुशी लागेको छ,’ खुलालले भनिन् ।

काठमाडौबाट छोरीले फोन गरेर स्वास्थ्य शिविरबारे जानकारी दिएपछि सेवा लिन आएको बताउँदै खानीखोला गाउँपालिका वडा नं ६ का सुन्दरीमाया थिङले उपचार र औषधी पाएकोमा आभार प्रकट गरिन् ।

स्वास्थ्य शिविर उद्धघाटन गर्दै खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले विकास पूर्वाधारका हिसाबले विकट रहेको स्थानमा स्वास्थ्य शिविर आयोजना गरेकोमा जनस्वास्थ्य कार्यालयलाई आभार प्रकट गरे । उनले यहाँको विकटता तोडेर सुगमता बनाउन स्थानीय सरकार लागि परिरहेको बताए ।

सामाजिक विकास समितिका संयोजक रहेका वडा नं ४ का अध्यक्ष निशान मोक्तानले जनताको स्वास्थ्य प्रती उत्तरदायी भएर स्वास्थ शिविर आयोजना गरिएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले शिविरबाट स्थानीयवासीको स्वास्थ्य समस्या पहिचान भइ समाधान हुने विश्वास व्यक्त गर्दै गाउँपालिकाले समन्वय, सहकार्य गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस