सभामुख एमालेका कार्यकर्ता भएर प्रस्तुत भए : कांग्रेस सह–महामन्त्री आङदम्बे

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ १२, शनिबार मा प्रकाशित ४८९ पटक पढिएको
सभामुख एमालेका कार्यकर्ता भएर प्रस्तुत भए : कांग्रेस सह–महामन्त्री आङदम्बे

धुलिखेल /  नेपाली कांग्रेसका सह–महामन्त्री भीष्मराज आङदम्बे प्रतिनिधी सभाका सभामुख देवराज घिमिरे एमालेको कार्यकर्ता भएर प्रस्तुत भएको आरोप लगाएका छन् ।

नेपाल तरुण दल धुलिखेल नगर कार्यसमिति विस्तार तथा जलपान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तारुढ दल एमालेका नेता केपी ओलीको आदेश मानेर सभामुखले लोकतान्त्रिक अभ्यास कमजोर बनाएको आरोप लगाए । ‘संसद प्रतिपक्षको हो तर सभामुखले एमालेको कार्यकर्ता जस्तै प्रस्तुत भए,’ आङदम्बेले भने, ‘प्रतिपक्षलाई आफ्ना कुरा समेत राख्न नदिएर सभामुखले लोकतान्त्रिक अभ्यास कमजोर बनाएका छन्, कांग्रेसले यसको प्रतिवाद गर्छ ।’

सहकारी ठगि प्रकरण र गिरिबन्धु टि स्टेटको जग्गा प्रकरणमा छानबनि गर्न नचाहेकोले कांग्रेस सडक आन्दोलनमा गएको बताए । कांग्रेसले राजा, राणा कसैको आदेश नमानेको तर्क गर्दै उनले आफ्नै पार्टी नेताका आदेशात्मक निर्देशन समेत नमान्ने भन्दै लोकतान्त्रिक पार्टीको नाममा छाडापन बढेकोमा भने चिन्ता गरे ।

तरुण दललाई टोल टोलमा संगठन निर्माण गर्न अनुरोध गर्दै उनले त्यसले पार्टीलाई पनि उचाई दिने तर्क गरे ।

बाग्मती प्रदेशका पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले विचार, संस्कार र संगठनसहितको तरुण दल र कांग्रेस अहिलेको आवस्यकता भएको औल्याउदै इमान्दार भएर पार्टीमा लाग्ने जोकोहीलाई पनि जिम्मेवारी दिने बताए । जिल्लामा कांग्रेसलाई पहिलो पार्टीको रुपमा उभ्याउन संगठन निर्माणमा जोड दिन तरुण युवाहरुलाई अनुरोध गरे । उनले १३५ वटै वडा र टोलमा तरुण दलको संगठन लैजान निर्देशन दिए ।

नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जनतामा भ्रम छरेर उदायका नयाँ पार्टीले फण्डा, भ्रष्टाचार मात्रै ल्याएको भन्दै देशमा आर्थिक संकट, बेरोजगारी, विदेश पलायन बढ्नुमा नयाँ पार्टीका फण्डा, झुटा आश्वासन पनि कारक रहेको बताए । हाल चर्चामा रहेका विभिन्न काण्ड, भ्रष्टाचारमा आफ्ना नेता पनि संलग्न भएकोले एमालेले छानबिन गर्न रोकेको आरोप लगाए ।

कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका उपसभापति ठाकूरप्रसाद न्यौपाने, रमेशप्रसाद हुमागाई, नेता अच्युतप्रसाद पौडेल, कोषाध्यक्ष जगन्नाथ गिरी, वी.पी अध्ययन प्रतिष्ठानका अध्यक्ष धर्मेन्द्र नेम्वाङ, कांग्रेस जिल्ला सदस्य रहेका तरुण दल काभ्रेका पूर्व अध्यक्ष राम जोशी, कांग्रेस जिल्ला सदस्य रहेका रहेका धुलिखेल नगर उपप्रमुख निराजन जंगम, प्रदेश सभा २ (क) का सभापति हेम लामा, भुम्लु गाउँपालिका उपाध्यक्ष, गाउँ पार्टी सभापति रहेका तरुण दल काभ्रेका पूर्व अध्यक्ष जितेन्द्रमान लामा (दावा), नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, नेपाली कांग्रेस धुलिखेलका सभापति विदुरबहादुर बस्नेत, नेपाल तरुण दलका केन्द्रीय सदस्य कमल लामा, स्मिता लामा, जिल्ला अध्यक्ष सुजन लामा, नेपाल दलित संघ काभ्रेका अध्यक्ष उस्पर सुनार, नेपाल तरुण दल प्रदेश सभा १ (क) का सभापति रामध्वज लामा, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सम्पूर्ण थापा, नेपाल तरुण दल धुलिखेलका सभापति छिरिङ लामा लगायतले कांग्रेसको विचार र संगठन निर्माण तरुण दलले भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा एमाले धुलिखेल वडा नं ११ का सहसचिव माननाथ हुमागाइ ( नमराज ) पाटी परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस