धुलिखेल / उच्च शिक्षाको लागि बढ्दो विदेश पलायन रोक्न प्राज्ञिक संस्था र उद्योगहरुविच सहकार्य हुनुपर्नेमा प्राज्ञिक व्यक्तित्वहरुले जोड दिएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयको विज्ञान तथा प्रविधी संकायले धुलिखेलमा आयोजना गरेको ‘विज्ञान र प्रविधी क्षेत्रमा प्राज्ञिक र उद्योगहरुविचको सहकार्य’ विषयक कार्यशाला गोष्ठीमा बोल्ने विभिन्न क्षेत्रका व्यक्तित्वहरुले समायानुकुल र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम परिमार्जन हुन सके उच्च शिक्षाको लागि विदेशिने जनशक्तिलाई नेपालमा नै रोक्न सकिने बताएका हुन् ।
वक्ताहरुले विश्वविद्यालयहरु जस्ता प्राज्ञिक संस्था र विभिन्न उद्योग, व्यवसायहरुविच प्रविधी, अनुसन्धान, जनशक्तिको क्षेत्रमा सहकार्य भए मात्रै मुलुकले चाहेको आर्थिक समृद्धी सम्भव हुने तर्क गरे ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलियाले सरकार–विश्वविद्यालय र उद्योगहरु विचको सहकार्य महत्वपूर्ण भएको भन्दै त्यस्ता सहकार्यले नै ‘नतिजा’ दिने बताए । नयाँ–नयाँ बिषयको लागि विद्यार्थीहरु विदेशिने गरेको तर्क गर्दै उनले समयानुकुल पाठ्यक्रम परिमार्जन गरेर नयाँ कुरा पढेको, सिकेको अनुभुति विद्यार्थीहरुलाई गराउनुपर्ने बताए ।
रजिष्ट्रार निलमणि पोखरेलले बजारको आवस्यकता पुरा गर्ने, रोजगारी सिर्जना गर्ने खालको पाठ्यक्रम तयार हुनुपर्ने भन्दै बेरोजगारी समस्या र विदेश पलायन रोक्न गोष्ठी फलदायी हुने विश्वास व्यक्त गरे ।
पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष यज्ञप्रसाद जम्मरकट्टेलले विदेश पलायन रोक्न अन्तराष्ट्रिय स्तरको पाठ्यक्रम तयार गरी विदेशी विद्यार्थी समेत आकर्षित गर्नुपर्ने बताए ।
नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. सुवर्ण शाक्य अनुसन्धानमा जोड दिँँदै त्यसको लागि कोष बृद्धि गर्नुपर्ने बताए ।
वनस्पती विभागका महानिर्देशक डा. सञ्जीव कुमार राईले समय सापेक्ष पाठ्यक्रम परिमार्जन नहुँदा अद्यावधिक भएको शिक्षाको लागि विद्यार्थीहरु विदेशिएको बताए ।
नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. रविन्द्र ढकालले नेपालमा उत्पादित जनशक्तिलाई उद्योगहरुले रोक्न नसकेको भन्दै प्राज्ञिक संस्थाहरुसंग सहकार्य नगर्दा समस्या भएको बताए । प्रतिष्ठानले ७ वटै प्रदेशमा अनुसन्धान केन्द्रहरु स्थापना गर्न खोजेको भन्दै उनले अनुसन्धानको लागि अनुदान समेत उपलव्ध गराउँदै आएको जानकारी दिए ।
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघका अध्यक्ष रञ्जित पोदारले नेपालमा उपयुक्त हुने दक्ष जनशक्ति विश्वविद्यालयहरुले तयार गर्नुपर्ने भन्दै यस्ता कार्यक्रमले विदेश पलायन रोक्न योगदान दिन सक्ने बताए ।
पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका निर्देशक नरेशकुमार शाहले विश्वविद्यालय तह पार गरेपछि विद्यार्थीमा एक खालको अन्यौलता हुने भन्दै त्यसलाई चिर्नको लागि उद्योगहरुसंग सहकार्य हुुनुपर्ने बताए ।
भारतको मिडिया एण्ड इन्टरटेन्मेन्ट स्किल काउन्सिलको व्यवसाय विकास तथा अन्तराष्ट्रिय सम्बन्ध प्रमुख रोशनी सेइगलले सहकार्य र सहयोगको लागि तयार रहेको प्रतिवद्धता जनाइन् ।
पूर्वाञ्चल विश्वविद्यालयको विज्ञान तथा प्रविधी संकायका डिन प्रा.डा. पवनकुमार झाले उद्योग र प्राज्ञिक संस्थाविचको सहकार्य अत्यावश्यक भएको भन्दै विचको खाडल पुर्न यस्ता गोष्ठी फलदायी हुने विश्वास व्यक्त गरे ।
सहायक डिन मनोजकुमार हलवाईले विश्वविद्यालयबाट उत्पादित जनशक्तिहरु जागिर खोज्ने भन्दा पनि रोजगारी सिर्जना गर्ने खालका भएको तर्क गरे ।
कार्यक्रम संयोजक सुधीर गुरागाईले विश्वविद्यालयले अन्यत्र भन्दा फरक बिषयहरु अध्यापन गराउने विश्वविद्यालयले उत्कृष्ट जनशक्ति तयार गरिरहेको बताए ।
दुई दिन चल्ने कार्यशाला गोष्ठीमा विश्वविद्यालयका विभिन्न संकाय, आंगिक तथा सम्बन्धन प्राप्त २५ कलेजका प्रतिनिधी सहभागी छन् ।
गोष्ठीमा विभिन्न बिषयका पाठ्यक्रम परिमार्जनको लागि छलफल हुनुका साथै विभिन्न रोजगारी प्रदायक कम्पनीहरुसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस