काभ्रेमा शैलजा आचार्यलाई स्मरण गरियो

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ २९, मंगलबार मा प्रकाशित ४०४ पटक पढिएको
काभ्रेमा शैलजा आचार्यलाई स्मरण गरियो

बनेपा /  प्रजातान्त्रिक आन्दोलनका अथक योद्दा स्वर्गीय शैलजा आचार्यलाई मंगलबार बनेपामा स्मरण गरिएको छ ।

शैलजा आचार्य आदर्श समाज काभ्रेले गरेको कार्यक्रममा उपस्थित कांग्रेस नेता र विभिन्न संस्थाका प्रतिनिधीले प्रजातन्त्र प्राप्तीको लागि उनले खेलेको भूमिकाबारे परिचर्चा गरे ।

नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेशप्रसाद हुमागाई, सचिव माधव ढकाल, सहसचिव समिर व्याञ्जु, रविन्द्र सिग्देल, जिल्ला सदस्य अप्सरा ढुंगाना, बेथानचोक गाउँपािलका अध्यक्ष भगवान अधिकारी, बनेपा नगर सभापति महेश कर्माचार्य, नेपाल शिक्षक संघका उपमहासचिव नारायणप्रसाद तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य नारायण सापकोटा, कपिल कोइराला, समाजका अध्यक्ष मञ्जु आचार्य घिमिरेलगायतले उनको योगदानको चर्चा गर्दै अनुशरण गर्नुपर्ने तर्क राखे ।

२०१७ साल पुष १ गते राजा महेन्द्रले कांग्रेसको निर्वाचित सरकारलाई बर्खास्त गरी शासन सत्ता आफ्नो हातमा लिएपछि तत्कालीन राजालाई कालो झण्डा देखाएर उनी चर्चामा आएकी थिइन् । त्यसपछि जेल परेकी उनको जीवन झण्डै १५ वर्ष जेल र निर्वासनमा बितेको थियो ।

२०४६ सालमा प्रजातन्त्र पुनस्थापना भए लगत्तै गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा कृषिमन्त्री बनेकी उनले त्यसपछि उपप्रधानमन्त्री र पार्टीको उपसभापतिको जिम्मेवारी समेत सम्हालेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस