महाभारत दम्पती प्रकरण : न्याय माग्दै पीडित पक्ष प्रदर्शनमा

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ २९, मंगलबार मा प्रकाशित १७४ पटक पढिएको
महाभारत दम्पती प्रकरण : न्याय माग्दै पीडित पक्ष प्रदर्शनमा

धुलिखेल /  ‘निष्पक्ष छानविन’ र दोषीलाई कार्वाहीको माग गर्दै महाभारत गाउँपालिकामा मृत फेला परेका दम्पती प्रकरणका पीडितले जिल्ला प्रहरी कार्यालयको गेट अगाडी नै प्रदर्शन गरेका छन् ।
सरस्वती बजारबाट नारावाजीसहित शुरु भएको प्रदर्शन प्रहरी कार्यालयसम्म पुगेको थियो ।

२०८१ जेठ ७ गते महाभारत गाउँपालिका वडा नं ४ तिनखुट्टेका मानबहादुर बल र उनकी श्रीमती हिरामाया मृत फेला परेका थिए । हत्या भएको भन्दै प्रहरीले शंकास्पद केहीलाई हिरासतमा राखेर अनुसन्धान थालेको थियो ।

हत्या भएको २२ दिनसम्म पनि हत्यारा पता लाग्न नसकेको, किटानी जाहेरी दिएका एक जना छाडिएकोले आशंका भएपछि न्यायको लागि प्रदर्शन गरेको मृतक दम्पतीको कान्छी आमाको छोरा कान्छामान भोम्जनले बताए ।

मृतकका छोरा रञ्जितले प्रहरीले नै पहिला दुई जनालाई किटानी जाहेरी हाल्न लगाएको र पछि फिर्ता लिनको लागि सही गराएको आरोप लगाए ।

दम्पतीको हत्या भएको भन्दै परिवारले २०८१ जेठ १७ गते जुगल गाउँपािलका वडा नं १ बस्ने बर्ष ३८ को एकेन्द्र सार्की र सोही गाउँपालिको वडा नं ५ बस्ने बर्ष ३४ को लोकबहादुर मगरविरुद्द किटानी जाहेरी दिएका थिए ।

प्रदर्शनका सहभागीले ‘किटानी जाहेरी लागु गर, मान्छे मार्न पाइँदैन, जाहेरीमा उल्लेख ठेकेदारलाई पक्राउ गर, मृतक दम्पतिलाई न्याय दे, प्रहरी अनुसन्धान निश्पक्ष गर, जघन्य अपराधी लुकाउन पाइँदैन लगायतका नारा लगाएका थिए ।

प्रहरीले भने अनुसन्धान जारी रहेको बताउँदै आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस