काभ्रेमा जघन्य अपराध अनुसन्धान : प्रहरी भन्छ, ‘निष्पक्ष छानबिन हुन्छ, न्याय प्रभावित हुँदैन,’

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ ३०, बुधबार मा प्रकाशित २८९ पटक पढिएको
काभ्रेमा जघन्य अपराध अनुसन्धान : प्रहरी भन्छ, ‘निष्पक्ष छानबिन हुन्छ, न्याय प्रभावित हुँदैन,’

धुलिखेल /  जिल्लामा पछिल्लो समय भएका गम्भीर जघन्य अपराधका घटनामा प्रारम्भिक अनुसन्धान सकेर विस्तृत अनुसन्धान भइरहेको भन्दै जिल्ला प्रहरी कार्यालयले ‘निष्पक्ष छानबिन’का साथ दोषी नउम्कनेमा ‘ढुक्क हुन’ अनुरोध गरेको छ ।

बुधवार ती घटनाको अनुसन्धानमा भइरहेको प्रगति दिन आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एस.पी) बसुन्धरा खडका्ले ‘अनुसन्धानकै क्रममा रहेकोले’ न्याय प्रभावित हुनेमा आशंका नगर्न अनुरोध गरिन् । एस.पी खड्काले थप अनुसन्धानले दोषी देखिए पक्राउ गरी कार्वाही गर्ने बताइन् । ‘जिल्लामा भएका जघन्य अपराधको प्रारम्भिक अनुसन्धान सकेर विस्तृत अनुसन्धानकै क्रममा छौं, घटनाक्रमलाई तथ्यहरु पुष्टी गरेअनुसार प्रतिवेदन पेश गरेका छौं,’ उनले भनिन्, ‘अनुसन्धान सकिएको भन्ने हैन, अनुसन्धानका क्रममा अरु तथ्य फेला परे फेरी पक्राउ गर्छौै, निष्पक्ष छानबिन हुन्छ, न्याय प्रभावित हुँदन ।’ प्रहरीले महाभारतको दम्पती हत्या प्रकरण, बोद्धिचितको रुख प्रकरण र महिला हत्या प्रकरणबारे जानकारी दिन बुधवार पत्रकार सम्मेलन गरेको थियो ।

दम्पती हत्या प्रकरण
२०८१ जेठ ७ गते महाभारत गाउँपालिका वडा नं ४ महादेवटारमा मानबहादुर बल र उनकी श्रीमती केकैमाया दम्पतीको हत्या भएको थियो ।

प्रहरीले शंकास्पद केहीलाई हिरासतमा राखेर अनुसन्धान थालेपनि हत्या भएको २२ दिनसम्म पनि हत्यारा पता लाग्न नसकेको, किटानी जाहेरी दिएका एक जना छाडिएको भन्दै ‘निष्पक्ष छानविन’ र दोषीलाई कार्वाहीको माग गर्दै मंगलबार पीडितले जिल्ला प्रहरी कार्यालयको गेट अगाडी नै प्रदर्शन गरेका थिए ।

२०८१ जेठ १७ गते जुगल गाउँपालिका वडा नं १ बस्ने बर्ष ३८ को एकेन्द्र सार्की र सोही गाउँपालिको वडा नं ५ बस्ने बर्ष ३४ को लोकबहादुर मगरविरुद्द किटानी जाहेरी दिएपनि मगरको संलग्नता नदेखिएको भन्दै लोकबहादुरलाई छोडिएको थियो । प्रहरीका अनुसार, एकेन्द्रले हत्या गरेको स्विकारेका छन् ।

घटना विवरण अनुसार, सडक निर्माणको काम गर्ने एकेन्द्रको ऋण तीन लाख रुपैयाँभन्दा बढी पुगिसकेको थियो । त्यसमध्ये ५० हजार जेठभित्र तिर्नुपर्ने थियो । सडकमा काम गर्ने उनी बेलाबेला किनमेलका लागि मानबहादुर दम्पतीले सञ्चालन गरेको पसलमा जान्थे । त्यसक्रममा केकैमायाले लगाएको सुनका गहनाहरू देखेपछि लुटपाट गर्ने उद्देश्यले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको एस.पी खड्काले जानकारी दिइन् ।

साबुन तथा स्याम्पु किन्ने बहाना बनाएर पसलमा पुगेका उनले केकैमाया र मानबहादुरलाई घन तथा फलामको रडले हानेर हत्या गरेका थिए । पसलबाट नगद, रिचार्ज कार्ड, मानबहादुरको मोबाइल र केकैमायाले लगाएको सुनको गरगहना लुटेर भागेका थिए । एकेन्द्रलाई ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

बोद्धिचित्तको रुख प्रकरण
प्रहरीले बुद्धचित्तको रुख काटिएको प्रकरणबारे पनि पत्रकारहरुलाई जानकारी गराएको थियो । रोशी गाउँपालिका वडा नं ५, सिसाखानीमा रहेकोे बुद्धचित्तको रुख काटिएको प्रकरणमा पक्राउ परेका मध्ये दुई जना हिरासत मुक्त भएको, २ जना कारागार चलान भएको र फरार रहेका ६ जनालाई पक्राउ पुर्जी जारी भएको एस.पी खड्काले जानकारी दिइन् ।

५४ करोड ९९ लाख ७ सय ८० रुपैया क्षतिपुर्ति मागदावी गरेर जिल्ला प्रहरी कार्यालय, काभ्रेले विष्फोटक पदार्थ, आपराधिक उपद्रव र संगठित अपराधको कसूरमा संलग्नता मुद्दामा सरकारी वकिलको कार्यालयको प्रतिवेदनको आधारमा ‘अंग नपुगेको’ भन्दै प्रभात भनिने दुर्गाबहादुर तामाङ र धिरज भन्ने श्यामकृष्ण मैनालीलाई दूईमहिना हिरासत राखेपछि छोड्न आदेश भएको थियो ।

धिरज भन्ने श्यामकृष्ण मैनाली भने अघिल्लो मुद्दाको फैसला बमोजिम पुनः पक्राउ गरेर जिल्ला कारागार पठाइएको छ । बुद्धचित्त लुटपाटको मुद्दामा अघिल्लो पटक दोषी ठहरिएका उनलाई ९ वर्ष कैद र ९० हजार जरिवना तोकिएको थियो । पक्राउ परेका सिजन भनिने मानबहादुर तामाङ, महाविर पुन भनिने विश्वनाथ चौधरीलाई पुर्पक्षमा राख्ने आदेश भएको छ । विश्वनाय अर्कै मुद्दामा चितवनमा कैद भुक्तान गरिरहेका छन् । फरार रहेका सागर भनिने रामकृष्ण मैनाली, विजय हुमागाई, असल मोक्तान र अजय भनिने रामजी श्रेष्ठलाई समेत पक्राउ पुर्जी जारी भएको छ । चीनको सिचुवान प्रान्तका ३८ बर्षीय याङ कैल्याङलाई पनि फरार प्रतिवादीको सूचीमा राखेर डिफ्युजन नोटिस समेत जारी भएको छ ।

महिला हत्या प्रकरण
प्रहरीले तेमालमा महिलाको हत्यामा संलग्न एक जनालाई सार्वजनिक गरेको छ ।

जेठ २४ गते तेमाल गाउँपालिका वडा नं २ स्थित चुखाबाट तिनपिप्ले जाने कच्ची सडकमा रड प्रहार गरी हत्या गरिएकी सोही स्थानकी ५७ बर्षीय साहिली तामाङको हत्यामा संलग्न सोही वडाको काफलडाँडाका ५७ बर्षीय मानध्वज तामाङलाई प्रहरीले सार्वजनिक गरेको हो ।
मानध्वजले फलामको रडले शरीरको विभिन्न भागमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस