एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल विजयी

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ ३०, बुधबार मा प्रकाशित २६५ पटक पढिएको
एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल विजयी

धुलिखेल /  एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल विजयी भएका छन् । बुधबार अबेर सम्पन्न मतदानपछिको मतपरिणाम अनुसार ३ सय ८० मत प्राप्त गरी निवर्तमान सचिव रहेका भुर्तेलले बाजी मारेका हुन् ।

अध्यक्षका अर्का प्रत्यासी रहेका निवर्तमान उपाध्यक्ष चन्द्रबहादुर लामाले २ सय ९९ मत प्राप्त गरेका छन् ।

पदाधिकारीमा भुर्तेलको प्यानल नै विजयी भएको छ । उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिवमा रत्नकुश रञ्जितकार र उपसचिव (महिला) मा सुर्यमाया दनुवार निर्वाचित भएका छन् ।

लामाको प्यानलबाट उपाध्यक्षमा आत्माराम थापा, सचिवमा होम चौलागाई, उपसचिव खुल्लामा पुरुषोत्तम अधिकारी र उपसचिव ( महिला) मा पवित्रा भुर्तेलले प्रतिस्पर्धा गरेका थिए ।

विद्युतीय मतदानमा ६ सय ७९ जना प्रतिनिधीले मतदान गरेका थिए ।

उद्धघाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाएर प्रतिस्पर्धा नगर्न निर्देशन दिएपनि अध्यक्षका दुबै उम्मेदवारले टिम खडा गरेका थिए ।

अधिवेशनमा नेताहरुले हस्तक्षेप नगर्न दिएको अध्यक्षको निर्देशन लत्याउँदै पोलिट्व्युरो सदस्य गोकूल बास्कोटा, जिल्ला अध्यक्ष अशोककुमार व्याञ्जु लगायतका नेता कार्यकर्ता भूर्तेलको पक्षमा खडा भएका थिए भने केन्द्रीय सदस्य रेशम लामा, युवासंघका उपाध्यक्ष अमित लामा लगायतका युवाहरु लामाको पक्षमा खुलेका थिए ।

जिल्ला कमिटीमा ५ पदाधिकारी, भौगोलिक क्षेत्रबाट ८० सदस्य, समावेशीतर्फ १३ सदस्य र खुलातर्फ ७ सदस्य गरी कुल १ सय ५ निर्वाचित हुनेछन् । लेखा आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ७ जना निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस