आइस्मा र आसिकले जिते ज्ञानकुञ्जको चौथो रोड रेस

नौलो समाचार संवाददाता
२०८१ अषाढ १, शनिबार मा प्रकाशित १९७ पटक पढिएको
आइस्मा र आसिकले जिते ज्ञानकुञ्जको चौथो रोड रेस

बनेपा /  चौथो संस्करणको ज्ञानकुञ्ज रोड रेस प्रतियोगितामा सैनिक माविका छात्रा आइस्मा आचार्य र काभ्रे माविका छात्र आसिक थापाले जितेका छन् ।

शनिवार भएको प्रतियोगितामा छात्रातर्फ बिजेश्वरी ज्ञान मन्दिर सैनिक मा.विका आचार्य प्रथम, पद्मकन्या मा.वि. कलंकीका अमृता बलामी दोस्रो र जेसिस मा.वि.भक्तपुरका क्याथ्रिन बासुकला तेस्रो भए ।

छात्रतर्फ काभ्रे मा.वि.का थापा प्रथम, कलंकी मोडल नैकापका अनुज महत दोस्रो र श्रीकृष्ण मा.वि. भक्तपुरका नवराज मैनाली तेस्रो भए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्रदान गरियो । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एस.पी) बसुन्धरा खड्काले उनीहरुलाई पुरस्कार प्रदान गरिन् ।

छात्रतर्फ ७ किलोमिटर दौड पनौतीमा नगर प्रमुख रामशरण भण्डारी र छात्रातर्फ ३ दशमलव ६ किलोमिटर दौड प्रतियोगिता बनेपामा ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान सञ्चालक समितिका अध्यक्ष सुरकृष्ण वैद्यले उद्धघाटन गरेका थिए ।

७ किलोमिटर दौड पनौतीबाट बनेपा पुरानो बजार हुँदै ज्ञानकुञ्ज स्कुलसम्म छात्राहरुकोे दौड बनेपा तिनदोबाटोबाट शुरु भइ गणेस्थानबाट चण्डेश्वरी मन्दिर पुगि पुरानो बजार हुँदै विद्यालयमा आएर टुंगिएको थियो ।

काठमाण्डौ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक तथा सुदुरपश्चिमका विद्यार्थी समेत करिब २ सय जनाले सहभागिता जनाएको प्रवन्ध निर्देशक प्रताप वैद्यले जानकारी दिए ।

माध्यमिक शिक्षा परिक्षा (एसईई) दिएर बसेका बालबालिका लक्षित गरेर कार्यक्रम गरेको प्रतिष्ठानका सहायक क्याम्पस प्रमुख नवराज चौलागाईले  जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस